नेपालले हङकङलाई हरायो, अफगान सुपर सिक्समा

विश्वकप छनोटमा नेपालले हङकङमाथि ५ विकेटको जित निकालेको छ । यससँगै अफगानिस्तान सुपर सिक्समा पुगेको छ ।
सुपर सिक्समा पुग्न नेपाललाई ठूलो अन्तरको जित चाहिएको थियो । त्यो नभएपनि नेपालले एकदिवसीय मान्यता पाउने र डिभिजन टुमा घटुवा हुनबाट बच्ने सम्भावना रहृयो ।
पहिलो जितसँगै नेपाल समूहको चौथो स्थानमा रहृयो भने हङकङ समूह बीको पुछारमा रहृयो ।
रोहित र सोमपालको उत्कृष्ट साझेदारी
१५४ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात औषत रहृयो । पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र अनिलकुमार साहले ४१ रनको साझेदारी गरे । अनिल २६ रनमा आउट भए । त्यसपछि लगातार तीन विकेट गुमायो ।
मल्ल १२, पारस ११ र दिपेन्द्र सिंह ऐरी १२ रनमा आउट भए, जतिबेला टिमको स्कोर मात्र ६६ रन थियो । तर, रोहित र सोमपालले अविजित ८९ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए । रोहित ४८
रनमा अविजित रहँदा सोमपालले नटआउट ३७ रन बनाए ।
कोको पुगे सुपर सिक्समा ?
समूह ए वेष्टइण्डिज, आयरल्याण्ड, यूएई समूह बी जिम्बाब्वे, स्कटल्याण्ड, अफगानिस्तान
अफगानिस्तान टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ४८.२ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनायो ।
ओपनिर निजाकत खानले टिकेर देखेपनि अरु ब्याट्सम्यानले साथ दिन सकेनन् । बाबर हायात मात्र २० र अंशुमान रथ मात्र १ रनमा आउट भएका थिए ।
खानले ४७ रन बनाए ।
नेपालका सन्दिप लामिछानेले ३ विकेट लिए भने करण केसी र बसन्त रेग्मीले २–२ विकेट लिए । सोमपाल कामी र ललित नारायण राजवंशीले १–१ विकेट लिए ।
प्ले अफ पपुवा न्यूगिनीसँग
हङकङमाथिको जितसँगै नेपाल समूह बीको चौथो स्थानमा उक्लिएको छ र अब प्ले अफमा पपुवा न्यूगिनीसँग खेल्ने भएको छ । यो खेल बिहीबार हुनेछ । हङकङले समूह एको चौथो स्थानमा रहेको नेदरल्याण्ड्ससँग खेल्नेछ ।
ओडीआई स्टाटसको सम्भावना
विश्वकप छनोट खेलेका पाँच एशोसिएट देशमध्ये शीर्ष तीनले ओडीआई स्टाटस पाउनेछ भने दुई टिम डिभिजन टूमा घटुवा हुनेछ ।
स्कटल्याण्ड र यूएईले सुपर सिक्समा मात्र स्थान बनाएको छ । यससँगै दुबै टिमले ओडीआई स्टाटस पाउने पक्का भएको छ । अब ओडीआई स्टाटसका लागि एक सिट बाँकी छ ।
यदि सोमबार नेपाललाई
हराएको भए हङकङ सुपर सिक्समा पुग्थ्यो र तीन टोली शीर्ष एसोसिएट देशले पाउने ओडीआई स्टाटस उसले पनि पाउने थियो ।
यस्तो अवस्थामा पपुवा न्यूगिनी र नेपाल प्ले अफ अघि नै डिभिजन टूमा घटुवा हुने थिए ।
तर, अब एउटा सम्भावना अझै छ । नेपालसँगै पपुवा न्यूगिनी र हङकङ मध्ये एक देशले ओडीआई स्टाटस पाउनेछ । यसका लागि प्ले अफमा राम्रो खेल्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया