कोइराला संसदीय दलका नेता चयन

धरान÷नेपाली काँग्रेस सुनसरीका सभापति तथा प्रदेशसभा सदस्य राजीव
कोइराला प्रदेश नं. १ को संसदीय दलको नेतामा चयन हुनुभएको छ ।
काँग्रेस संसदीय दलको नेताका लागि आइतबार कोइराला, केदार कार्की र शेखरचन्द्र थापाले उमेद्वारी दिनुभएको थियो । तर सोमबार कार्की र थापाले सर्वसम्मतिको लागि उमेद्वारी फिर्ता गरेपछि कोइराला संसदीय दलको नेतामा सर्वसम्मत चयन हुनुभएको हो । निर्वाचन समितिका संयोजक अधिवक्ता भरत थापाका अनुसार सर्वसम्मत गराउनका लागि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभाका सांसद मिनेन्द्र रिजाल र नेता अमृत अर्यालले पहल गर्नुभएको थियो ।
सुनसरी क्षेत्र नं. २ ख बाट अत्याधिक वहुमतले विजयी हुनु भएका कोइराला पार्टीभित्र सरल र भद्र व्यक्तिका रुपमा चिनिनु हुन्छ । वि.सं. २०३५ सालमा महेन्द्र मोरङ्ग आदर्श वहुमुखी क्याम्पस विराटनगरमा अध्ययन गर्दादेखि नै नेपाल विद्यार्थी संघबाट
राजनीति गर्नुभएका कोइरालाका पिता स्व. डा. केशरी कोइराला त्यसबेला प्रभावशाली काँग्रेसका नेता हुनुहुन्थ्यो । पिताजीबाटै
राजनैतिक प्रभाव परेको राजीव कोइराला २०४५ सालदेखि पार्टीमा सक्रिय रहँदै आउनु भएको हो । वि.सं. २०५४ सालमा पार्टीको सहसचिव, २०६४ मा सचिव र २०६७ सालदेखि निरन्तर पार्टी सभापतिको जिम्मेवारी सम्हल्दै आउनु भएको छ । प्रदेश नं. १ मा २१ जना नेपाली काँग्रेसका सांसद रहेका छन् । प्रदेश नं. १ मा रहेका कुल ९३ जना सांसदमध्ये काँग्रेसका २१ जना छन् जसमा ८ जना प्रत्यक्ष निर्वाचित भएका थिए भने १३ जना समानुपातिकबाट रहेका छन् । प्रदेश नं. १ मा एमालेको ५१, माओवादी केन्द्रको १५ जना, संघीय समाजवादी फोरमको ३, स्वतन्त्र १, राप्रपाको १ र संघीय लोकतान्त्रिक मञ्च (कुमार लिंगदेन) को १ सिट रहेको छ । बाम गठबन्धनको एमाले र माओवादीको गरी दुई तिहाई पुग्ने भएकोले उहाँहरुलाई निरकुंश बन्न नदिन प्रभावशाली प्रतिपक्षीको भूमिका निर्वाह गर्न काँग्रेस लागिपर्ने नेता कोइरालाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया