धरान÷अग्रसेन स्मृति भवन धरानको साधारणसभा एक विशेष समारोहबीच धरानमा सम्पन्न भएको छ ।
बार्षिक साधारणसभामा विविध निर्णयहरु समेत भएका छन् ।
धरान ९ स्थित रहेको अग्रसेन भवनको नामको चार कट्ठा जग्गामा अत्याधुनिक सुविधा सम्पन्न वैंकटेश हल निर्माण गर्ने, धरानमा बसोबास गर्दैै आएका मारवाडी समुदायमा मृत्यु लगायतका अन्य परम्परागत संस्कारलाई तत्काल समुदायमा उपलब्ध गराउन सूचनालाई थप व्यवस्थित गर्नका लागि मारबाडी समुदायका हरेक परिवारले अग्रसन भवनको कार्यालयमा मोवाइल फोन उपलब्ध गराउने लगायतका निर्णयहरु भएका छन् ।
साधारणसभाले मारवाडी समुदायका अग्रज, नेपाल भारत मैत्री संघका केन्द्रीय अध्यक्ष एवम् नेपाली काँग्रेसकातर्फबाट प्रदेशसभा सांसदमा मनोनित ओम सरावगी, एमालेबाट सुनसरी क्षेत्र नं. १ क बाट प्रदेशसभाका सांसद प्रदिप भण्डारी, माओवादीबाट समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य सावित्री श्रेष्ठ, नेपाली काँग्रेसकातर्फबाट समानुपातिकका प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ र माओवादीका तर्फबाट समानुपातिकका प्रदेशसभा सदस्य उमिता बराइलीलाई सम्मान गरिएको थियो । यसैगरी अग्रसेन भवनका कावा अध्यक्ष हनुमानप्रसाद अग्रवाललाई आगामी कार्यकालका लागि सर्वसम्मत अध्यक्षमा चयन गरिएको छ । अग्रसेन स्मृति भवनको २४ जना कार्यसमितमा रहने व्यवस्था अनुसार थप पदाधिकारी एवम् सदस्य अध्यक्षबाट मनोनित हुने भएका छन् ।
साधारणसभामा आर्थिक प्रतिवेदन कोषाध्यक्ष गौरीशंकर अग्रवालले र महासचिवको प्रतिवेदन कार्यक्रम सञ्चालक कृष्णकुमार अग्रवालले प्रस्तुत गर्नुभएको थियो ।

