हात्ती आतंक नियन्त्रण गर्न वनपथ निर्माण सुरू

झापा । हात्ती आतंक नियन्त्रण गर्न झापाको भद्रपुर नगरपालिका आसपासको वन क्षेत्रमा वनपथ निर्माण शुरु गरिएको छ ।नगर क्षेत्रको १, २, ३ र ४ नम्बर वडामा रहेको वन क्षेत्रमा वनपथ निर्माण शुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले जानकारी दिनुभयो । उहाँका अनुसार वनपथ निर्माणका लागि चालू आव २०७४÷०७५ का लागि रु ५५ लाख विनियोजन समेत गरिएको छ ।
‘प्रारम्भिक चरणमा रु ५५ लाख बजेट छुट्याएर काम शुरु गरिएको छ’ उहाँले भन्नुभयो, ‘क्रमिकरुपमा बजेट थप गर्दै काम अघि बढाइनेछ ।’ नगर प्रमुख जीवनकुमार श्रेष्ठले पर्यटन विकासको सम्भावनासमेतलाई दृष्टिगत गरी सामुदायिक वनलाई जोड्ने आकर्षक र सुरक्षित वनपथ निर्माण गर्न लागिएको बताउनुभयो ।
नगरको १ देखि ४ नम्बर वडासम्म पर्ने सामुदायिक वनलाई जोड्ने गरी वनपथका लागि नगरसभाले नै योजना पारित गरेको छ । हात्तीलाई लखेट्नेभन्दा पनि मानिस सुरक्षित हुने गरी हात्ती मार्ग निर्माण गर्न सक्दा प्रभावकारी हुनुका साथै यसले आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया