धरान÷आर्थिक अनियमितता, प्रतिष्ठानलाई भद्रगोल बनाएको, सिनेट अध्यक्ष, सह–कुलपति तथा स्वास्थ्य मन्त्रीले सिनेट बोलाउन दिएको निर्देशनको अवहेलना गरी सिनेट नबोलाएको भन्दै यहाँ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.
राजकुमार रौनियारलाई पदमुक्त गर्न स्वास्थ्यमन्त्री दिपक बोहराले कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई सिफारिस गर्नुभएको छ ।
स्वास्थ्य मन्त्रालयकी सचिव पुष्पा चौधरीले दिएको जानकारी अनुसार उपकुलपति रौनियारलाई पदमुक्त गर्न पौष २८ गते शुक्रबार प्रधानमन्त्री तथा कुलपति शेरबहादुर देउवा समक्ष सिफारिस भएको हो । नेपाल–भारतको संयुक्त लगानीमा निर्माण भएको आन्तर्राष्ट्रिय स्तरको नन् प्राक्टिसिङ्ग मेडिकल कलेज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भएको केही समयमै
करोडौ आर्थिक अनियमिततामा तानिएका प्रा.डा. रौनियारका विरुद्धमा अख्तियार, स्वास्थ्य मन्त्रालय, प्रधानमन्त्रीको कार्यालयमा उजुरी परेको छ ।
केही समय अगाडि स्वास्थ्य मन्त्रालयका सचिवको संयोजकत्वमा एक छानविन टोलीले प्रतिष्ठानमै आएर आर्थिक अनियमितता लगायतका कुरामा छानविन गरेको थियो । मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार उजुरीका आधारमा छानविन गर्दा आर्थिक अपचलन भएको देखिएको थियो । प्रतिष्ठानको हातामा निर्माणाधीन अंकुलोजी, कार्डियोलोजी, मातृ शिशु स्याहार केन्द्र, एमआरआइ मेशिन
खरिद प्रकरणमा करोडौ अनियमितता पुष्टि भएको जनाएको छ । स्वास्थ्य सचिव चौधरीका अनुसार फार्मेसी सञ्चालन प्रतिष्ठानले आफै गर्नुपर्नेमा एउटै व्यक्तिलाई आर्थिक लेनदेनमा विना टेन्डर सञ्चालन गर्न दिएकोप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत आफ्नो ध्यान केन्द्रित भएको भन्दै उपकुलपति रौनियारलाई आफै सञ्चालन गर्न निर्देशन दिएको थियो । तर अख्तियारको निर्देशनलाई समेत वेवास्ता गरेको मन्त्रालय सम्बद्ध स्रोतले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयको छानविन टोलीले तयार पारेको प्रतिवेदनका आधारमा स्वास्थ्यमन्त्री तथा प्रतिष्ठानका सह–कुलपति दिपक बोहराले सिनेटमा छलफल गर्न सिनेटको ४० औं बैठक बोलाउन रौनियारलाई निर्देशन दिएपनि उपकुलपति रौनियारले आलटाल गर्दै, मोवाइल समेत स्विचअफ गरी बैठक नबोलाएपछि उनलाई स्पटीकरण सोधिएको थियो । उपकुलपति प्रा.डा. रौनियारले गत आइतबार मन्त्रालयमा स्पष्टीकरण दिएका थिए । तर आर्थिक अनिमितता लगायका विषयमा उपकुलपति रौयिनारले चित्तबुझ्दो जवाफ नदिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । स्रोतले दिएको जानकारी अनुसार छानविन टोलीले तयार पारेको प्रतिवेदनका आधारमा स्वास्थ्य मन्त्रालयले सह सचिव, उपसविच र सचिव स्तरीय टिप्पणी उठाएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत अनियमिततामा कारबाही गर्न आग्रह गर्दैै मन्त्रायलले सिफारिस गरेको छ । यसै सम्बन्धमा स्वास्थ्यमन्त्री तथा प्रतिष्ठानका सह कुलपछि दिपक
वोहरालाई ९८५१०२२०११ मा फोन गरी वास्तविकता बुझ्न खोज्दा उहाँले भन्नुभयो अनियमिता भएको छ र प्रतिष्ठानलाई जोगाउन पदमुक्तको सिफारिस गरिएको हो ।
प्रतिष्ठानमा यतिबेला सिनेट संख्या २२ रहेको छ । प्रतिष्ठानमै कार्यरत पदाधिकारी सात जना र बाँकी सिनेट सदस्यहरुमा अर्थ सचिव, नाष्ट, काठमाण्डौ विश्व विद्यालय, स्वास्थ्य सचिव लगायत रहन्छन् । सिनेटका दुई तिहाइ भन्दा बढी सदस्यहरु उपकुलपति रौनियारको विपक्षीमा रहेको एक सिनेट सदस्यले आÏनो नाम उल्लेख नगर्ने शर्तमा बताए । उनले भने सिनेट सदस्य संख्याको दुई तिहाईले महाभियोग लगाउन सक्ने प्रावधान छ । हाल स्वास्थ्य मन्त्रालयले रौनियारलाई पदमुक्त गर्न प्रधानमन्त्रीलाई सिफारिस गरेको अबस्थामा प्रधानमन्त्रीले कस्तो कारबाही गर्नुहोला ? के पदमुक्त गर्नुहुन्छ त भन्ने जिज्ञासामा ती सिनेट सदस्यले भने शुरुमा विधानतः प्रधानमन्त्रीले एक तीन सदस्यीय छानविन समिति बनाउनु हुनेछ । त्यो समितिले गर्ने सिफारिसको आधारमा पदमुक्त अर्थात थप स्पष्टीकरण सोध्न सक्छ । यसै सम्बन्धमा हामीले प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारसँग वास्तविकता बुझ्न पटक पटक फोन सम्पर्क गर्दा उहाँको मोवाइलको स्विच अफ गरिएको थियो ।

