चन्द्रलालपुर २ की ७७ वर्षीय डम्बरकुमारी श्रेष्ठको परिवारले छठ पर्व मनाउन थालेको यो वर्ष ५० औं वर्ष पूरा हुँदैछ । तर, अहिले उनी वृद्धअवस्थामा छिन् त्यसकारण उनकै बुहारी रन्जु श्रेष्ठले सासुले थालेको छठ पर्वको विडो थामेकी छिन् ।
रन्जु भन्छिन्, ”आमा अब वृद्ध हुनुभया े। विगत ६ वर्ष देखि मैले सम्हालेको छु । कडाईका साथ नियम पालन गरेर चोखो निको गरी सम्पन्न गर्नुपर्ने छठ पर्वमा झण्डै ३० घण्टा लामो निराहार उपवास बस्नुपर्छ। त्यसकारण यो पर्व रमाईलो छ, मानोकांक्षा पुरक छ तर कठिन पनि छ ।’ ”आमा वृद्ध हुनुभयो त्यसकारण विगत ६ वर्ष देखि म निराहार बस्छु’, उनले थपिन्, ”आमाले बसालेको यो रीति म पनि बाचुन्जेल गर्छुर् ।’
रन्जुको पुजा कोठामा छठ पर्वका लागि चाहिने सामाग्रीहरु भरिभराउ भईसकेको छ । कोसिया, कुरवार, कोनिया, ज्यामिर, भोगटे, उखु, अरगौती बधही, हात्ति, ढकना, केरा, ठकुवा र भुसुवा बनाउन चाहिने मर मसाला र चोखो नयाँ ढाकी जस्ता चिजविज सवै किनेर छठ मनाउने तारतम्य मिलाउन व्यस्त छिन् उनी । रन्जुको परिवार मात्र होईन मधेसमा बसोवास गर्ने पहाडे समुदायका धेरै घर परिवारहरुले हर्षोल्लासका साथ छठ पर्व मनाउने गरेका छन् । चन्द्रलालपुर २ मा अवस्थित श्रेष्ठ समुदायका ७ घरले छठ मनाउने गरेको स्थानीय रामदयाल श्रेष्ठले बताए ।
श्रेष्ठ भन्छन्, ”जति उल्लास दशैंमा हुन्छ त्यो भन्दा रत्तिभर पनि कम छठमा हुँदैन । अस्तयाचल सूर्यलाई अर्घ दिने साँझ र उदायाचल सूर्यलाई अर्घ दिने बिहान जलाशय र नदी किनारहरुमा बनाईएको घाटमा छठको रमाईलो हेर्न नजाने विरलै हुन्छन ्।’
घाटमा पहाडे समुदायको बाक्लो उपस्थिति देख्दा छठ पर्व मधेसी संस्कृतिका अनुयायीहरुको मात्र हो भन्नै सकिदैंन । विगत ५० वर्षदेखि छठ मानाइरहेकी डम्वर कुमारी श्रेष्ठलाई मधेसीले मनाउने छठ तपाईले कसरी मनाउन सुरु गर्नुभयो त ? भनी प्रश्न गर्दा उनले भनिन्, ‘कसरी छठ मधेसीको मात्र हुन्छ ? छठ हाम्रो पनि हो । मैले छठ थालेको ५० वर्ष भयो ।’
छठ मनाउने पहाडे समुदायकी अर्की वृद्धा हुन् असनपुर ६ की शशीकला चौहान । उनी पनि छठको सामाग्री किन्न व्यस्त छिन् । चौहान भन्छिन्, ‘लगभग सरावरी छन् छठ मानाउने मधेसी र पहाडे समुदाय । मेरा छिमेकी मधेसीहरु मेरो घरमा छठको परिकार बनाउन मद्दत गर्न पनि आउाछन् ।’
गोलवजारका समाजसेवी युवा सुधिर साह छठको लागि जलाशयहरुमा सफाई र घाट निर्माण गर्न मधेसी वा पहाडे युवाहरुको सरावरी सकृयता देखिने गरेको बताउँछन् ।
‘पहिलो पटक छठ थालनी गर्ने पहाडेहरुलाई विधि विधान सिकाउन मधेसी महिलाहरुले सहयोग गरिरहेको देखिन्छ । यो भन्दा अपूर्व सामाजिक सद्भाव अरु के हुन सक्छ?’, उनले भने, ”दशैं र तिहारमा अधिकांश पहाडे समुदायका ईष्ट मित्रहरुका घरवाट मधेसीहरुलाई निम्ता आउँछ । त्यसैगरी छठको पारन (अन्तिम सांग्यको दिन) छठ मनाउने मधेसी समुदायको घरमा पहाडेहरुको धुईरो हुन्छ । प्रत्येक घरमा ईष्ट मित्रहरुलाई बोलाएर सुस्वादु भोजन
गराउने परम्परा छ ।’
हरेक मधेसीहरुको घर घरमा पहाडे समुदायका ईष्ट मित्रहरुलाई पनि निम्ता गरी बोलाइन्छ र प्रसाद लगायत सुस्वादु भोजन गराइने गरेको समाजसेवी साहले बताए । उनले भने, ‘यो अनुपम सांस्कृतिक मिलाप हाम्रो समाजमा देखिन्छ ।’
फोरम नेपालका सिरहा अध्यक्ष किशोरी यादव भन्छन्, ‘एउटै देशका वासी एउटै धर्म हिन्दुका अनुयायी पहाडे र मधेसी मिलेर छठ मनाउनु स्वभाविक हो। एकठाउँमा बसेपछि घुलमिल त हुन्छ नै । यसले आपसी सदभावमा वृद्धि गर्छ ।’
त्यसैगरी अनुकल्प दैनिकका सम्पादक अर्जुन थपलिया भन्छन्, ‘फरक फरक समुदाय र भिन्न संस्कृतिक पर्वहरु मनाउने समुदाय पनि एक स्थानमा मिलेर लामो समय वसेपछि संस्कृतिक अन्तरघुलनको स्थिति आउँछ । एकको संस्कृतिमा अर्को
रम्ने वातावरण स्वास्थ्य सामाजिक वातावरण र सद्भावको लागि हितकर छ ।’
