धरान÷यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरण अन्तर्गत हुने ४५ जिल्लाको निर्वाचनको पूर्व सन्ध्यामा वम विस्फोटनका घटनामा वृद्धि भएपछि उमेद्वार, चुनावीसभा र मतदाताको सुरक्षाका लागि अन्यत्र जस्तै सुनसरी जिल्लामा पनि सेना परिचालन भएको छ ।
निर्वाचनमा अपराधिक समूहले वम विस्फोट गराउन सक्ने सम्भावित स्थानहरुमा अब सेनाले निगरानी गर्ने भएको छ । सुनसरी जिल्लाका चारै निर्वाचन क्षेत्रका १ सय ६६ मतदान स्थल र पाँच सय २७ मतदान केन्द्रको सुरक्षा गर्ने गरी विहीबार देखि नै सेना परिचालन भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीले बताउनुभयो । निर्वाचन सुरक्षामा सेना परिचालनसँगै धरान, इटहरी, दुहवी, इनरुवा, हरिनगरा, कप्तानगञ्ज, देवानगञ्ज, बर्जु गाउँपालिका, महेन्द्र नगर लगायतका स्थानमा सेनाको अस्थायी गुल्म समेत स्थापना गरिसकिएको छ । प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार अस्थायी गुल्मबाट परिचालित हुने सेनाले चौबीसै घण्टा मतदान स्थल, मतदाता र उमेद्वारहरुको निगरानी गर्ने छ ।
