साम्यवाद ल्याउने कि लोकतन्त्र राख्ने

इनरुवा÷नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले हाल हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन लोकतान्त्रिक व्यवस्था राख्ने कि एक दलीय तानाशाही व्यवस्था ल्याउने भन्ने जनमत संग्रह नै भएको बताउनु भएको छ ।
प्रधानमन्त्री देउवाले सोमबार सुनसरी क्षेत्र नं. ४ देवानगञ्जमा आयोजित आमसभालाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो । उहाँले संसदीय पद्धति फालेर राष्ट्रपतीय शासन पद्धति अंगाल्ने कम्युनिष्टहरुको गुलियो आश्वासनमा नफस्न मतदाताहरुलाई आग्रह गर्नुभएको थियो । उहाँले एमालेहरु विकास र समृद्धिका विरोधी भएको आरोप लगाउँदै संसदमा समेत रोष्टम घेर्ने, सडकका रेलिङ्ग भाँच्ने काम मात्र
गरेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले विकास विरोधी, एकदलीय तानाशाही व्यवस्था ल्याउन आतुर रहेको वाम गठबन्धनलाई नभएर लोकतन्त्र र समृद्धिको पक्षमा रहेको नेपाली काँग्रसलाई मत दिन पनि आग्रह गर्नुभयो । मुलकुमा शान्ति स्थापनाका लागि, सविधान जारी गर्ने, माओवादीलाई जंगलबाट ल्याउने नेपाली काँगेसले नै गरेको उहाँले बताउनुभयो । देशमा सदैव हत्या र हिँसा मच्चाउने शक्ति भनेकै वाम भएको र शान्ति र समृद्धि नेपाली जनताको चाहना भएकोले मतदाताले नेपाली काँगेसलाई मतदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो मुलुक अहिले दोबाटोमा उभिएको छ । जनताले सही निर्णय गर्न नसके मुलुक कता जान्छ भन्ने अन्यौल छ । उहाँले प्रश्न गर्नुभयो कम्युनिष्टलाई जिताएर साम्यवादी तानाशाही व्यवस्था ल्याउने कि लोकतन्त्रवादीहरुलाई जिताएर शान्ति, स्थायित्व र विकास ल्याउने ?
सो अवसरमा नेपाली काँग्रेसका
बरिष्ठ नेता रामचन्द्र पौड्याल, उपप्रधान, संघीय मामला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार, अर्थमन्त्री तथा सुनसरी क्षेत्र नं. ४ का प्रतिनिधिभाका प्रत्यासी ज्ञानेन्द्रबहादुर कार्की, वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्मा, पूर्व
राज्यमन्त्री सीताराम मेहता, नेपाली काँगेस सुनसरीका सभापति राजीव कोइराला लगायतले मुलुकमा लोकतन्त्र संरक्षणका लागि साम्यवादी अधिनायकवादका विरुद्धमा उभिनु पर्ने अवस्था आएको बताउनु भएको थियो ।

तपाईको प्रतिक्रिया