दिनेश न्यौपाने
दशैको लगत्तै घोषणा भएको प्रमुख प्रतिपक्षी दल नेपाल कम्प्युनिष्ट पार्टी (एमाले) र सत्ता साझेदार नेपाल कम्प्युनिष्ट पार्टी (माओवादी) र पूर्व माओवादी हाल नयाँ शक्ति पार्टीका बीच भएको चुनावी गठबन्धनले नेपाली राजनीतिमा ल्याएको तरङ्गा अझै पनि सेलाईसकेको छैन । चुनावी गठबन्धन मात्र होइन एकिकृत कम्प्युनिष्ट पार्टी निर्माण गर्ने यस घोषणबाट नेपाली कांग्रेस अन्त लियो । लगतै कांग्रेसले आफुसँग विचार मिल्ने दलहरुका बीच प्रजाान्त्रिक गठबन्धनको प्रस्ताव ल्यायो । तर बाम गठबन्धनको सम्झौताको मसी नसक्दै बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी बाम गठबन्धनबाट अलग्गिएको छ । के हो बामगठबन्धन ? सत्ताको लागि चुनावी रणनीति मात्रै हो कि बैचारिक आन्दोलनको शुरुवात ? प्रश्न यथावत छ । विश्वमा अहिले कम्प्युनिष्ट आन्दोलन मृत प्रायः छ । सन् ९० मा सोभियत संघको विघटन पश्चात ओरालो लागेको साम्यवादी पतनको श्रृखंलाले पनि नेपाली कम्प्युनिष्ट आन्दोलन थलिएको छ । उनिहरु संस्थापक काल माक्र्सको सर्वहारा वर्गको अधिनायकत्वबाट विमुख भई प्रजातान्त्रिक धारमा समावेश हुन थालेका छन् । उनीहरु शास्त्रिय अर्थमा कम्प्युनिष्ट होइन् । मात्र सामाजिक, आर्थिक मुद्दामा मात्र बामपन्थ देखि न थालेका छन् । माओवादी जनयुद्ध नौलो जनवादी र सर्वहारा सत्ताका लागि घोषणा गरिए पनि १० वर्ष अघि शान्ति सम्झौतामा टुंगियो । विश्व साम्यवादी वैचारिक प्रवाहहरुमा माओवादी र एमाले भिन्नाभिन्दै धारका कम्प्युनिष्ट पार्टीहरु छन् । माओवादी जनयुद्ध कालमा यी दुई पार्टी बीचको सम्बन्धमा तिक्तता आएको थियो । शान्ति सम्झौता पश्चात पनि यिनीहरु बीच सम्बन्धमा सुधार हुन सकेन । केही अघिसम्म एमाले अध्यक्ष के.पी. ओलीको नेतृत्वमा गठित सरकारमा माओवादी सत्ता साझेदारी दल थियो । ओलीको सरकार छाडेर कांग्रेस सभापति शेर बहादुर देउवाले माओवादीलाई समर्थन गरेपछि प्रचण्ड प्रधानमन्त्री भएका थिए । प्रचण्डको नौ महिनाको सत्ता भोगपछि माओवादी कै समर्थनमा देउवा प्रधानमन्त्री बनेका हुन् । यसबीच एमाले माओवादी सम्बन्ध गाली गलौजको स्तरसम्म ओर्लियो । जसलाई ओलीले प्रचण्डलाई भारतले प्रधानमन्त्री बनाईदिएको आरोप लगाए । फेरि अकस्मात् कांग्रेससँग सत्ता साझेदारी गरेकै वापत प्रचण्ड एमालेसँग गठबन्धन गर्न पुगे । के यो अवसरवादी खेल मात्रै हो कि सिद्धान्तको मेल ? अहिले फेरि एकथरी सञ्चार माध्यमहरुले बाम गठबन्धनमा चीनको हातरहेको प्रचार गरे । यसले नेपालको आन्तरिक राजनीतिमा भू राजनीतिको प्रभाव र पहुँचलाई स्पष्ट गरेको छ । केही टिप्पणीकार प्रचण्ड अस्थिर
राजनीतिज्ञ भएकोले यसो हुनु गएको र यो गठबन्धन पनि धेरै दिन टिक्न नसक्ने बताउँछन् । प्रचण्डको विगत एकदशकदेखिको राजनीति चरित्रले पनि के देखाउँछ भने उनी सत्ता र शक्तिको राजनीति गर्दछन् । सिद्धान्त उनको देखाउने कुरा मत्र हो । यसको जरो खोतल्दा के लाग्दछ भने नेपाली कम्प्युनिष्ट राजनीति गहिरो संकटमा छ । सन् ९० को उथलपुथल लगत्तै महासचिव मदन भण्डारीले बहुदलिय जनवाद मार्फत शास्त्रिय लेनिनवादी राजनीतिको उदारीकरण गरेका थिए । मदन भण्डारीको बहुदलीय जनवादको खोल त थियो । तर प्रचण्डसँग त्यो पनि छैन । किन भने अहिले संसारमा विचार धाराको राजनीति परम्पारित रुपमा केही पनि छैन । यो हेक्का नेपाली कम्प्युनिष्टहरुलाई राम्ररी छ । यसर्थ आफ्नो अस्तित्वको लडाईका लागि पनि यो गठन बन्धन भएको मान्न सकिन्छ । भनिन्छ एमाले नेता बामदेव गौतम यो एकता लागि लामो समयदेखि प्रयासरत थिए । आगामी संसदीय र प्रादेशिक चुनावका लागि गरिएको यस गठबन्धन अहिले एकलौटी बहुमत ल्याउने कोसिसमा लागेको छ । गठबन्धनले एकताबाट सजिलै बहुमत आउने र सरकार चलाउने अपेक्षा
गरेको छ । तर यस बाम रणनीतिबाट नेपाली कांग्रेसले अवसर पनि पाएको छ । प्रजातान्त्रिक शक्तिहरु बीच गठबन्धन गरेर कांग्रेसले प्रजातन्त्रको संस्थागत विकास र आर्थिक प्रगतिका लागि प्रजातान्त्रिक गठबन्धन सही विकल्पको रुपमा लिएको छ । कम्प्युनिष्टहरुको विश्वदर्शन संसारबाट लोप भईसकेको सन्दर्भमा यो बामगठबन्धनबाट प्रजातान्त्रिक शक्ति अत्तालिनु पर्ने कारण छैन । साम्यवाद नामको विश्व आनदोलन अहिले छैन । प्रजातन्त्र र उदारवाद नै विश्वमा प्रचलित प्रणली बनेको छ । आफ्नो दह्रो यो वैचारिक स्रोतबाट कम्प्युनिष्टहरुलाई प्रहार गर्न प्रजातन्त्रवादीहरुले सक्नुपर्दछ । तर कम्प्युनिष्टहरु पनि आफ्नो अभियान मार्फत विश्व व्यवस्थालाई परिवर्तन गर्ने होइन कि सत्तामा पुगेर आफ्नो अस्तित्वको रक्षा खोजेको जस्तो छ ।
यसर्थ बाम गठबन्धनको यो भ्रमबाट सबै मुक्त हुन आवश्यक छ । यथार्थ
कुरो के हो भने नेपाली कम्प्युनिष्टहरु माओकालिन चीन, पोलपोटकालिन कम्बोडिया र स्टालिनकालिन सोभियतसंघको जस्तो अवस्थामा नेपाललाई लैजान सक्दैनन् । उनीहरु हुने भनेको बेलायतमा कन्जरभेटिब भन्दा लेवर बामपन्थी भए जस्तो वा भारतमा वीजेपी भन्दा कांग्रेस आई बढी धर्म निरपेक्ष, समावेशी र अल्पसंख्यकमुखी पार्टी जस्तो मात्र बन्न सक्दछन् । उनीहरुले गर्ने
राजनीति प्रजातन्त्रका संचरना र मान्यता भित्रै हुन्छ । शास्त्रिय सन्दर्भको विचार धाराको राजनीतिको अन्त्य नेपालमा भईसकेको छ ।
