धरान÷संघीय समाजवादी फोरमका बरिष्ठ उपाध्यक्ष अशोक राईले वाम धुव्रिकरणले मुलुकको लोकतन्त्रमाथि नै खतरा बढेको बताउनुभएको छ ।
नेता राईले संघीय लोकतान्त्रिक गठबन्धन सुनसरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा यस्तो बताउनुभएको हो ।
उहाँले नेपालको संविधान २०७२ जसरी सहमतीय आधारमा आयो त्यसैगरी मुलुकलाई निकास दिने काम पनि सहमतीय आधारमा गर्नुपर्नेमा वाम धु्रविकरण गरेर लोकतन्त्रलाई खतरा बनाउने काममा वाम घटकहरु लागेको आरोप लगाउनुभयो । संविधानमा उल्लेख भएका कुराहरु सहमतीय आधारमा गर्नुपर्ने भए पनि वाम घटकको नाममा नेकपा माओवादी केन्द्र र नेकपा एमाले लोकतन्त्र मास्ने खेलमा लागेको आरोप लगाउनुभयो ।
संघीय लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रदेश नं. १ को सुनसरीबाट प्रतिनिधिसभाका लागि प्रत्यक्ष उमेदवारसमेत बन्नुभएका राईले विगतमा समेत नेकपा एमालेले संविधान संसोधनमा किचलो निकालेकोे स्मरण गराउदै अहिलेको वाम गठबन्धन पनि लोकतन्त्र विरोधी भएको आरोप लगाउनुभयो ।
नेपाली कांग्रेसले प्रजातन्त्र र लोकतन्त्रको रक्षा गर्ने भएकोले आफूले समेत सुनसरीमा नेपाली कांग्रेससंग गठबन्धन गरेर चुनाव लडेको बताउदै अब संविधानको रक्षार्थ, मुलुकमा लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न भए पनि लोकतान्त्रिक गठबन्धनलाई जिताउनुपर्नेमा जोड दिनुभयो ।
पत्रकार सम्मेलनमा प्रदेश नंं १ अन्तर्गत सुनसरी क्षेत्र नं. १ (क) बाट प्रत्यक्षका प्रत्यासी बन्नुभएका किशोर
राई र (ख) बाट प्रत्यक्षका प्रत्यासी बन्नुभएका बुद्धिबहादुर कटुवालले संविधानलाई संस्थागत गर्दै लोकतन्त्रको विकास गर्नैकै लागि संघीय लोकतान्त्रिक गठबन्धन निर्माण भएको बताएका थिए ।
उनीहरुले सार्वजनिक गरेको अपिलमा भ्रष्टाचार, अनियमिताको अन्त्यदेखि लिएर सुकुम्बासी समस्या समाधान, सुनसरीलाई पर्यटकीय स्थलको केन्द्रविन्दु बनाउने, स्वास्थ्यमा सर्वसाधारणको पहुच, खेलकुदको विकास, सुनसरीलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने, उद्योगधन्दाको विस्तारसंगै बेरोजगारीको अन्त्य, आदिवासी, जनजाति, दलित, महिला, पिछडिएका वर्ग, अपाङ्ग तथा असहायको वृत्ति विकास तथा रोजगारमा जोड दिने लगायतका कुराहरु समावेश गरेका थिए ।

