धरान÷नव नियुक्त वाणिज्यमन्त्री मिनबहादुर विश्वकर्माले धरानको विकासलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् ।
धरानको इतिहासमै पहिलो क्याविनेट मन्त्री बनेका विकको सोमबार यहाँ नेपाली काँग्रेस धरान उपमहानगर समिति, सुनसरी उद्योग वाणिज्य संघ, इटहरीका क्षेत्रीय अध्यक्ष तथा इटहरी उपमहानगर पालिकाका निर्वाचित वडा नं. २० का वडाअध्यक्ष मणिराम श्रेष्ठले वडाबासीको तर्फबाट स्वागत सम्मान गर्नुभएको थियो । पहिलो पटक
धरानले क्याविनेट मन्त्री पाएको खुशियालीमा नेपाली काँग्रेस धरानका कार्यकर्ताहरु ठूलो संख्यामा विराटनगर एयरपोर्ट पुगेका थिए । नेपाली काँग्रेस धरान उपमहानगर समितिले गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै मन्त्री विकले भने धरानको समग्र विकासमा मेरो प्राथमिकता रहन्छ । खासगरी धरानमा आवश्यक पर्ने विकासका योजनाहरु अन्तर मन्त्रालयको समन्वयमा अगाडि बढाउने, जडीबुटी, अदुवा,चिराइतो, हर्दी लगायतका कृषिजन्य उत्पादनलाई प्रशोधन केन्द्र खोलेर निर्यातजन्य बनाउन आफूले पहल गर्ने बताउनुभयो । नेपाली काँग्रेस धरान उपमहानगर समितिका सभापति तिलक राईको सभापतित्वमा सम्पन्न स्वागत समारोहमा जिल्ला सचिव सुजेन्द्र तामाङ्गले धरानमा स्थानीय तहको निर्वाचनमा काँग्रेसको पराजयपश्चात क्याविनेट स्तरीय मन्त्री धरानले पाउनु गर्वको कुरा हो भन्दै कँग्रेस सभापति शेरबहादुर देउवालाई धन्यवाद दिनुभयो ।
यसैगरी सुनसरी उद्योग वाणिज्य संघले सोमबारै वाणिज्य मन्त्री विकसँगै धरान उपमहानर पालिकाका नव निर्वाचित प्रमुख तारा सुब्बा, उपप्रमुख मञ्जु भण्डारी (सुवेदी) र २० वटै वडाका वडाध्क्षहरुको स्वागत सम्मान गरेको थियो । संघका अध्यक्ष राजेन्द्र साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा क्षेत्रीय प्रशासक राजेन्द्रमान सिंह, सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा राजकुमार रौनियार, सुनसरी प्रहरी प्रमुख पोषराज पोख्रेल लगयतको उपस्थिति रहेको थियो ।
