इटहरी उपमहनगर पालिकासँगै जोडिएको मोरङको सुन्दर हरैचा ५ स्थित फोक्लान टापुमा पहिचान नखुलेको रोगको प्रकोपका फैलिएको छ । असार ४ गतेदेखि नै मानिसहरु बिरामी भएपनि सरोकारवाला निकायाले ध्यान नदिदा दुई जनाको ज्यान गइसकेको छ । ३५ घर परिवारका १७ जना भन्दा बढि अहिले सिकिस्त बिरामी परेका छन् । बिरामी पर्नेहरु अधिकांश बालबालीका छन् । तामाङ्ग र राईहरुको बसोबास रहेको गाँउ वुढी खोला र मुगु खोलको बिचमा पर्छ । इटहरीबाट ८ किलोमिटर उत्तर पूर्व गएपछि सो गाँउ पुगिन्छ । इटहरी हुँदे त्यहाँ पुग्नका लागि मोटरबाट जान सकिन्न । सुन्दर हरैचाको तीन पैनि बजारबाट समेत त्यहाँ पुग्न समस्या छ ।
गाँउमा असार पहिलो सातादेखि नै ज्वारो आउने, टाउको दुख्ने र रिँगाटा चल्ने लक्षण देखिने रोग देखिएको
थियो । सो रोगबाट दिलबहादुर राईका १४ बर्षका छोरा विजय राई, र डिल्लीमान तामाङ्गकी ५ बर्षकी छोरी सुस्मिता तामाङ्गको ज्यान गइसकेको छ । राईको बिरामी भएको दुई दिनमै गत असार २९ गते मृत्यु भएको हो भने तामाङ्गको भने साउन ८ गते मृत्यु भएको हो । तामाङ्ग एक सातादेखि थला पर्नु भएको हो । गाँउमा असार शुरुदेखि नै एकै खालको लक्षण देखिने रोगबाट स्थानीय अनन्त तामाङ्गको परिवारमा ३ जना, रोशन राईको घरमा दुई जना, सञ्जय तामाङ्गको घरमा रहेका ६ जना, भरतमणी राईको परिवारमा एक जना टिकाराम राईको घरमा एक जना र कमल राईको घरमा दुई जना धनबहादुर तामाङ्गको घरमा एक जना र एभरेष्ट राईको घरमा एक जना बिरामी भएको स्थानीय दलजित सुब्बाले बताउनु भयो । उहाँका अनुसार गाँउमा बिरामी पर्न थालेपछि सर्वसाधारण उपचारका लागि स्थानीय स्वास्थय चौकीमा गएका थिए । त्यहाँ पनि बिराम पहिचान नभएपछि सामान्य ज्वारो होला भनेर घर फिरेका थिए । गाँउमा ३ सय मानिसहरुको बसोबास छ ।

