धरान÷ धरानमा स्थानीय निर्वाचनको सरगर्मी बढ्न थालेको छ । पार्टीका नेता कार्यकर्ताहरु आ आफ्ना नेतालाई जिताउन र आफ्नो पक्षमा माहोल बनाउन सक्रियता बढाउदै लान थालेका छन् ।
यसैबीच नेकपा माओवादी केन्द्र
धरान उपमहानगरले वैसाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मेयर, उपमेयर, वडाअध्यक्षहरुको नामावली जिल्ला समितिमा सिफारिस गरेको छ ।
माओवादी केन्द्र धरान नगर समितिले सोमबार धरानमा पत्रकार सम्मेलनको आयोजना गर्दै मेयरका लागि पार्टीका नेता आइन्द्रविक्रम बेघालाई सर्वसम्मतबाट उठाउने निर्णयसहित जिल्ला समितिमा सिफारिस गरेको छ । यसअघि मेयरका लागि स्थानीय नेता अशोक राई, धरान नगर इन्चार्ज चोत्लुङ र बेघाको नाम अगाडि आएपनि अन्ततः बेघालाई नै मेयरका लागि उमेद्वारी दिने सर्वसम्मत निर्णय गरेर जिल्ला समितिलाई पठाएको हो ।
यसैगरीै उपमेयरका लागि चार जना महिलाको नाम नगरले जिल्लालाई सिफारिस गरेको छ । नगरले चेतना श्रेङ, कमला
राई, लक्ष्मी प्रधान र गंगा पौडेल बरालको नाम सिफारिस गरेको हो । चारमध्ये जिल्लाले जसलाई सिफारिस गर्छ उही नै उपमेयरको उमेद्वार हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
यता धरानमा रहेको २० वटै वडाअध्यक्षका लागि भने नगरले सर्वसम्मतबाट एक एक जनाको नाम सिफारिस गरेर जिल्लालाई पठाएको छ । जस अन्तर्गत वडा नं. १ मा चन्द्रप्रसाद बजगाई, २ मा रमेश राई, ३ मा सर्वजीत राई, ४ मा चन्द्रबहादुर कुलुङ, ५ मा धनकुमार राई, ६ मा धनबहादुर तामाङ, ७ मा धनकुमार कन्दङ्वा, ८ मा झमक मगर, ९ मा विजय पौडेल, १० मा नरबहादुर लिम्बू, ११ कमला राई, १२ मा भुवन हाङनाम, १३ मा लेखराज श्रेष्ठ, १४ मा सुरेन्द्र गौतम, १५ मा दिलबहादुर रामदाम, १६ मा हिमाल कार्की, १७ मा सूर्यबहादुर भट्टराई (मनोज), १८ मा मानबहादुर राई, १९ मा सन्त तेम्बे र २० मा सम्फर तामाङलाई वडा अध्यक्षमा सिफारिस गरेको हो । निर्वाचनमा आफ्नो पक्षको उमेद्वारलाई जिताउन माओवादी केन्द्रका केन्द्रीय सदस्य मुक्साहाङ मेन्याङ्बोको संयोजकत्वमा १३ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ भने १८ वटा उपसमिति समेत गठन गरेको छ ।
सो अवसरमा नगरले २९ बुँदे घोषणा पत्र समेत सार्वजनिक गरेको छ । ‘माओवादी केन्द्रको अभियान, एक नम्बर प्रदेशको राजधानी धरान’ लगायतका कार्यक्रम अघि सारेको
हो ।
माओवादी केन्द्रले धरानको खानेपानी समस्या समाधान, धरान विमानस्थललाई पूर्णता, क्षेत्रीय
रङशाला, सेउती, सर्दु र सेरा नदीहरुको तटबन्धसहित पुल निर्माण, रिङरोड, बसपार्क लगायतको कार्यक्रम अघि सारेको छ । त्यस्तै सुकुम्बासीहरुलाई विजुली पानीलगायतको सुविधा प्रदान धरानको सबै परिवारलाई मासिक १० हजार लिटर पानी र १० युनिट विद्युत निःशुल्क उपलब्ध गराउने लगायतका कार्यक्रम समेत अगाडि सारेको छ ।
सार्वजनिक कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य मुक्हाङ मेन्याङबोले वैसाख ९ गते नेकपा माओवादी केन्द्रको स्थापना दिवसका अवसरमा ७ सय ४४ गाउपालिका, नगरपालिकाका मेयर, उपमेयर, वडाअध्यक्ष, सदस्य सबैको नाम सार्वजनिक गर्ने बताउनुभयो । सो अवसरमा यसपटकको स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रले धेरै स्थानमा विजय गर्ने दाबी समेत उहाले गर्नुभयो ।
