धरान÷ प्राय गरेर समाजमा प्रतिष्ठित व्यक्तिहरु सम्मानित हुने गरेको पाइएको छ । तर विश्वकर्मा कल्याण सेवा समितिले आफ्नो रजत जयन्तिको अवसर पारेर धरान उपमहानगरपालिकामा कार्यरत सरसफाई मजदुरहरुलाई सम्मान गरेको छ ।
आफ्नो रजयत जयन्तिको अवसरको साताव्यापी कार्यक्रम अन्र्तगत समितिले धरान नगर सरसफाइसंगै धरान उपमहानगरपालिकामा कार्यरत सफाई मजदुरहरुलाई सम्मान गरेको हो । धरानमा विशेष गरि दलित समुदायका मरिक जातीहरुहरुले सरसफाईका काम गर्दै आएका छन् । कार्यक्रममा रविन मरिक, दिपेन मरिक, दिनेश मरिक, दिपेन्द्र मरिक, विवेक मरिकलाई धरानको भानुचौकमा एक कार्यक्रमको आयोजना गरी समितिका अध्यक्ष लालबहादुर सुन्च्यौरीले खादा ओढाई सम्मान गर्नुभएको हो । उनीहरुलाई मास्क र सफाई गर्दा प्रयोग गर्न मिल्ने ग्लोब्स प्रदान गरिएको छ । समितिले आयोजना गरेको धरान सरसफाई अभियान अन्र्तगत छाताचौंकको पुरानो अस्पतालबाट भानुचौंक सम्म सरसफाई गरिएको छ । धरानलाई स्वच्छ सफा शहर बनाउन सरसफाई कर्मचारीको मात्रै नभई हामी सबैको कर्तव्य हो भन्ने बोध गराउन बजार सरसफाई अभियान संचालन गरिएको समितिका सचिव प्रेम लकान्द्रीले बताउनुभयो । सफाई अभियानमा समितिका पदाधिकारीहरु सहित विश्वकर्मा युवा समाजका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
