पिण्डेश्वर अष्टादश महापुराण ज्ञान महायज्ञमा मेची महाकालीको जल

धरान÷नेपाल अधिराज्यमै पहिलो पटक धरानमा हुन लागेको पिण्डेश्र अष्टादश महापुराण ज्ञान महायज्ञ (अठारवटै पुराण) को तयारी अन्तिम चरणमा पुगेको छ ।
यही फागुन १७ गतेदेखि चैत्र ६ गतेसम्म सञ्चालन हुने ज्ञान महायज्ञको कलश यात्रामा पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका नदीहरुको जल प्रयोग गरिने भएको छ । कार्यक्रम संयोजक तथा उद्योग वाणिज्य संघ सुनसरी धरानका अध्यक्ष राजेन्द्र साहका अनुसार गीता सुवेदीको नेतृत्वमा ११ सदस्यीय एक टोली सोमबार मेचीतर्फ प्रस्थान गरिसकेको छ ।
टोलीमा पुष्पा दाहाल, कोपिला भट्टराई, सरस्वती बस्नेत, तुलसी भट्टराई, अञ्जु बस्नेत, गोमा खनाल, सीता दाहाल, सीता ढुंगाना र निर्मल बराल रहनु भएको छ । उनीहरुले सोमबार मेची र माइको जल उठाएर मंगलबार महाकाली प्रस्थान गर्ने र फर्कदा देशका सबै ठूला नदीको जल लिएर आउने संयोजक साहले जनकारी दिनुभयो । संयोजक साहका अनुसार अष्टादश महापुराणमा प्रत्येक चार दिन चार हजार भक्तजनहरुको सहभागिता रहने अनुमान गरिएको छ । साथै प्रत्येक दिन ॐकार परिवारका एकजना विद्वानको प्रमुख आथित्य रहनेछ ।
पिण्डेश्वर अस्टादश महापुराण ज्ञान महायज्ञको विधिवत समुद्घाटन जगदगुरु बालसन्त मोहनशरण देवाचार्यबाट हुने सचिव सिताराम आचार्यले जानकारी दिनुभयो । सचिव आचार्य भन्नुहुन्छ, महायज्ञका धेरै आकर्षक पक्षहरु समेत छन् । नेपाली भाषामा अनुवादित १८ पुराण (सार संग्रह) विमोचन, नेपालका १४ वटै अञ्चल र ७५ वटै जिल्लाबाट १८ पुराण वाचनका लागि विद्वान आउने, संकल्पकर्ताहरु मुलुकभित्रबाट मात्र नभएर मुलुकबाहिरबाट समेत आउने छन् । यसका अलावा प्रत्येक दिन संकल्पकर्ता तथा अन्य शुभेच्छुकहरुबाट लाख बत्ती बाल्ने, मेची महाकालीबाट संकलन गरेर ल्याएको जल कलश यात्रामा मिसाइने भएको छ ।

तपाईको प्रतिक्रिया