धरान÷ सयपत्री बोइज युनियन क्लब धरानले दोस्रो पूर्वाञ्चल व्यापी पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
क्लबले आइतबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी पूर्वाञ्चल व्यापी पुरुष भलिबल प्रतियोगिता हुने जानकारी दिएको हो ।
प्रतियोगिता आगामी पौष २७ देखि माघ १ गतेसम्म सञ्चालन हुने आयोजक सयपत्री बोइज युनियनका अध्यक्ष सुनिल भण्डारीले जानकारी दिनुभयो ।
प्रतियोगितामा पूर्वाञ्चलका १६ टिमले प्रतियोगितामा भाग लिने भएका छन् । आयोजकका अनुसार प्रतियोगितामा संखुवासभा भलिबल क्लब, धनकुटाको लुखाजुंग, मोरङको याङशिला, धरानको बाजगरा क्लब, झापा टाइगर भलिबल क्लब दमक, त्रिवेणी भलिबल क्लब याङशिला, तरहरा युवा भलिबल क्लब, भेडेटार भलिबल क्लब, उदयपुर भलिबल क्लब, धरान भलिबल क्लब, आयोजक सयपत्री बोइज युनियन क्लब र खोटाङ भलिबल क्लबको सहभागितासँगै विभागीय शसस्त्र प्रहरीको एपीएफ, रानी प्रहरी भलिबल टिम, सेनाको कालीबक्स गण याङसिला, पूर्वी पृतना मुख्यालय इटहरीको भलिवल टिमले प्रतिष्पर्धामा भाग लिने आयोजकले जानकारी दिएको छ ।
३ लाख ३० हजार अनुमानित बजेट लाग्ने सो प्रतियोगिताको प्रथम हुने टिमलाई नगद ३० हजार र ३० तोला बराबरको चादीको टूफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ भने दोस्रो हुनेलाई नगद १५ हजार, मेडल र प्रमाणपत्र वितरण गरिने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको पहिलो संस्करण ०७२ चैत्र २९ देखि ०७३ वैसाख १ गतेसम्म सञ्चालन भएको थियो । सो बेला त्रिवेणी युवा क्लब याङशिला मोरङले प्रथम स्थान हासिल गर्दै नगद ११ हजार १ सय ११ रुपैया, टूफी, मेडल र प्रमाणपत्र हात पारेको थियो ।
