मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अंगिकृत नागरिकलाई राष्ट्रपति प्रधानमन्त्री, प्रधानन्यायधीश र सुरक्षा निकायका प्रमुख जस्ता संवेदनशिल पदमा जाने अवसर दिन नहुने बताए ।
फोरम लोकतान्त्रिक बाँकेले नेपालगन्जमा आइतबार आयोजना
गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गच्छदारले अंगिकृत नागरिकलाई राज्यका संबेदनशिल पदमा जाने अवसर दिनु हुँदैन भन्ने माग मधेशी जनताको
रहेको बताए ।
संसारभर नै बंशज, जन्मका आधारमा नागरिकता प्राप्त गरेका र अंगिकृत नागरिकहरुका बिचमा केही फरक ब्यवस्था हुने गरेको दाबी गर्दै अध्यक्ष गच्छदारले नेपालमा पनि त्यस्तो फरक ब्यवस्था कायम हुने गरि नयाँ संविधानमा गरिएको ब्यवस्था उपयुक्त भएको दाबी गरे ।
नयाँ संविधानले नागरिकताका सम्बन्धमा गरेको ब्यवस्था पर्याप्त
रहेको र सबै नेपाली नागरिकले सहज रुपमा नागरिकता पाईरहेको बताउँदै नागरिकता वितरणका लागि टोली खटाउनुपर्ने अवस्था नभए पनि सत्तारुढ दलले राजनीतिक प्रोपोगान्डाका लागि नागरिकता टोली खटाउन लागेको बताए ।
आवश्यकता नै नभएकाले नागरिकता टोली खटाएर सरकारले राज्यको ब्ययभार समेत बढाउन खोजेको अध्यक्ष गच्छदारले दाबी गरे ।
संचारकर्मीको एक प्रश्नको जवाफमा अध्यक्ष गच्छदारले संघीयता सम्बन्धी विवादको हल नगरी गरिन लागेको संविधानको संशोधनले पनि मुलुकका समस्या समाधान गर्न नसक्ने बताए । संविधान संशोधनका सम्बन्धमा सरकारले अझै पनि ठोस प्रस्ताव ल्याउन र प्रमुख बिपक्षी दल एमाले फोरम लोकतान्त्रिकसँग समेत औपचारिक रुपमा वार्ता गरी सहमती बनाउन नसकेको बताए ।
