काठमाडौं– मिर्गौलाका
बिरामीहरुलाई आवश्यक पर्ने संपूर्ण डायलाइसिस निःशुल्क भएको छ । यसअघि हप्तामा दुई पटक मात्रै निःशुल्क डायलाईसिसको व्यवस्था गरिएकोमा अवदेखि आवश्यकता अनुसार निःशुल्क डायलाइसिस गर्न सक्ने व्यवस्था भएको हो ।
स्वास्थ्य मन्त्री गगन कुमार थापाको निर्देशनमा मन्त्रालयको चिकित्सा सेवा महाशाखाले आवश्यकता अनुसारको डायलाईसिस निःशुल्क गर्न सोमबार सम्वन्धित अस्पतालहरुलाई परिपत्र गरेको छ । बिरामीले मृगौला प्रत्यारोपण नगर्दा सम्म हप्तामा तीन पटक सम्म डायलाइसिस गर्नु पर्ने मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
डायलाईसिस गर्दा हरेक पटक २५ सय रुपैयाँ लाग्ने गरेको छ । हप्ताको तीन पटक र प्रत्येक पटक २५ सय रुपैयाका दरले डायलाईसिसका लागि मात्रै हरेक हप्ता कम्तीमा ७५ सय रुपैया लाग्ने गर्दछ । यही सेवालाई नै मन्त्रालयले निःशुल्क गरेको हो । प्रधानमन्त्रीको घोषणा, सरकारको चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम र स्वास्थ्य मन्त्रालयको निर्णय समेतबाट सम्पूर्ण डायलाईसिस निःशुल्क हुन लागेको हो ।
मन्त्रालयले दिएको निर्देशनमा “निःशुल्क उपचार गराउने व्यवस्था अनिवार्य कार्यान्वयन गर्न निर्णयानुसार अनुरोध छ’ भनिएको छ । नेपालमा अहिले मानव अंग प्रत्यारोपण केन्द्र र किड्नी सेन्टर सहित ३२ अस्पतालहरुमा निःशुल्क लाडलाईसिसको व्यवस्था रहेको छ । यी मध्ये चारओटा अञ्चल अस्पताल रहेका छन् भने वाँकी अञ्चल अस्पतालहरुमा पनि मन्त्रालयले निःशुल्क डायलाईसिस सेवा सञ्चालन गर्ने प्रक्रिया अगाडी बढाइसकेको छ ।
स्वास्थ्य मन्त्री थापाले पदवहाली गर्ने बेलामा ६ महिना भित्रमा सवै अञ्चल अस्पतालहरुमा निःशुल्क डायलाईसिसको व्यवस्था गर्ने घोषणा गर्नु भएको थियो । प्रत्येक अञ्चल अस्पतालहरुलाई २ ओटा डायलाईसिस मेसिन किनेर सेवा सुरु गर्न मन्त्रालयले आवश्यक रकम पनि पठाइ सकेको छ । ६ महिना भित्रमा सवै अञ्चल अस्पतालहरुमा सेवा सुरु भईसक्ने मन्त्रालयको दावी छ ।
त्र
