आउनुहोस ! सहभागी हुनुहोस !! सहयोग गर्नुहोस !!! नेपाल अधिराज्यमै पहिलो पटक धरानमा हुन गइरहेको अद्वितीय आयोजना पिण्डेश्वर अष्टादश महापुराण ज्ञानमहायज्ञ (अठारै पुराण) मा सहभागी भई दिनुहुन विश्व हिन्दू परिषद् नेपाल धरानको आव्हान

अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम् ।
परोपकार पुण्याय पापाय परपीडनम् ।।
विश्व हिन्दू परिषद् नेपालको आयोजनामा धरानमा बृहद सत्सङ्ग, शास्त्रार्थ एवंम् पिण्डेश्वर अठार महापुराण ज्ञानमहायज्ञ आयोजना हुने भएको छ । कार्यक्रम अनुसार २०७३ फाल्गुण १७ गते मंगलवार का दिन धरान नगरीमा अठारै
महापुराणको भव्य शोभायात्रा हुनेछ । सोहि दिन अठारै महापुराणको नेपाली भाषामा सार संग्रह समेटिएको विशाल ग्रन्थ विमोचन पनि हुनेछ । दोस्रो दिन भोली पल्ट २०७३ फाल्गुण १८ गते पिण्डेश्वर अष्टादश महापुराण ज्ञानमहायज्ञ अठारै
पुराणका संकल्पकर्ता महानुभावहरु, विशिष्ट अतिथिज्यूहरु एवंम् भक्तश्रोताजनहरुको विशाल उपस्थितिमा नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगद्गुरु अनन्तश्री विभुषित बालसन्त मोहनशरण देवाचार्यज्यू महाराजका बाहुलीबाट समुद्घाटन गरिने कार्यक्रम निश्चय भएको छ । त्यस पश्चात प्रत्येक दिन ॐकार परिवार भित्रका कुनै एक विशिष्ट व्यक्तित्व एवंम धर्मगुरुको प्रमुख आतिथ्यमा नेपाल अधिराज्यको चौंधै अञ्चलबाट पाल्नु हुने विभिन्न विद्वान पण्डित वाचकज्यूहरु मध्ये एक जनाबाट एउटा पुराणको सार संग्रह दैनिक वाचन तथा प्रमुख अतिथिको सारगर्भित सम्बोधन हुने भई २१ दिन पछि २०७३ चैत्र ६ गते आईतवारका दिन अठारै महापुराण ज्ञानमहायज्ञ कार्यक्रमको समापन हुने निर्णय भएको छ । वैदिक सनातन धर्माबलम्वीजन सबैको सक्रिय सहयोगमा र चौधै अञ्चलका वाचकज्यूहरु, संकल्पकर्ता महानुभावहरु तथा भक्तश्रोताजनहरुको उपस्थितिमा सम्पन्न हुन लागिरहेको यो धार्मिक ज्ञानमहायज्ञले हाम्रो पवित्र एवंम् सुन्दर यो क्षेत्रको अझ सौन्दर्य र गरिमा संसारभरी नै प्रदर्शित हुनेछ । देशका विशिष्ट विद्वान, वरिष्ठ व्यक्तित्वहरु साथै भक्तजनहरुको उपस्थितिले नयाँ चहलपहलको वातावरण बन्नेछ तथा हाम्रो एकता, सक्रियता र उत्साहले हाम्रो देश भित्र मात्र होईन् छिमेकी मित्र राष्ट्रहरुमा समेत हाम्रो कार्यक्रमको
राम्रो तथा सकरात्मक प्रभाव पर्नेछ । यस्तो समाचार यहाँहरु समक्ष अवगत गराउन पाउँदा विश्व हिन्दू परिषद् नेपाल हर्षित भएको अनुभव गर्दछ । यस्तो कार्यक्रम धरान नगरीमा आयोजना हुन लागेकोमा हामी धरान नगरवासीको ठूलो सौभाग्य हो भन्ने ठानेका छौ ।
“धर्मो विश्वस्य जगतः प्रतिष्ठा” अर्थात धर्म नै विश्व जगतको प्रतिष्ठा हो । सम्पूर्ण धर्मको मूल वेद हो । “वेदेऽखिलो धर्ममूलाम्” वेद चार (ऋग, यजुर, साम, अथर्व) छन् । इतिहास र पुराणहरु पञ्चम वेद हुन् । शास्त्रज्ञानको उपदेश गर्ने क्रममा ब्रम्हाजीले सर्वप्रथम पुराणहरुको स्मरण गरेका थिए । “वेदाः प्रतिष्ठिताः सर्वे पुराणेष्वेव सर्वदा” अर्थात वेदहरु पुराणमै प्रतिष्ठित छन् । इतिहास र पुराणको ज्ञान लिनु वेदको ज्ञान लिनु हो । यही अनमोल पौराणिक ज्ञानराशि प्रकाश एवंम प्रचार गर्ने उद्देश्यले सम्पूर्ण मानव समुदायको कल्याणका लागि परमात्माले स्वयम् व्यासको रुपमा अवतरित भएर १८ पुराणहरुको उपदेश गर्नुभएको थियो । यस धर्तीका हामी मानवले पनि उनै परमात्माको अमुल्य सन्देश र पवित्र आदर्शलाई अनुशरण गर्दै आज यो ज्ञानमहायज्ञको आयोजना गर्ने अठोट लिएका हौं ।भक्तवृन्द !!
महामुनि व्यासकृत अठार पुराणहरुको आध्य अक्षरद्वारा ः ”मद्वयं भद्वयं चैव ब्रत्रयं वचुतष्टयम् ।
अनापलिंगकूस्कानि पुराणनि पृथक पृथक ।।“ (श्रीमद्देवीभागवतः प्रथम स्कन्ध अध्याय ३, श्लोक २)
यस प्रमाण अनुसार १८ पुराणहरुमा (१) मार्कण्डेय (२) मस्त्य (३) भागवत् (४) भविष्य (५) ब्रम्ह (६) ब्रह्माण्ड (७) ब्रम्हवैवर्त (८) विष्णु (९) वराह (१०) वामन (११) शिव (१२) अग्नि (१३) नारदीय (१४) पद्म (१५) लिङ्ग (१६) गरुड
(१७) कूर्म (१८) स्कन्द पर्दछन् । श्रद्धेय भक्तजनहरुको सदिच्छा र सौभाग्यले अष्टादश पुराण महायज्ञको अपूर्व अनुष्ठान यस धर्तीमा आयोजना हुने भएको
कुरा यहाँहरुलाई सुनाउन पाउँदा हामी हर्षित भईरहेका छौं । श्रद्धालु भक्तजन !!
प्रतिपाद्य विषयका आधारमा पुराणहरु सात्विक, राजसिक र तामासिक गरी तिन प्रकारका हुन्छन् । वैष्णव, शैव, शाक्त, सौर गण आदी विविध देवता परक हुन्छन् । पुराणहरु द्वेत, अद्वेत, द्वेताद्वेत, सांख्य आदी षड्दर्शनका भण्डार हुन् । पुराणहरुमा देवकर्म, पितृकर्म, संस्कार कर्म, नित्य, नैमित्तिक तथा काम्य कर्म आदीको प्रतिपादन गरिएको हुन्छ । ब्रम्हाण्डको सृष्टि, विविध प्रकारका प्रलय, चन्द्रवंश, सूर्यवंश आदी वंशका राजर्षिहरुको वंशोपाख्यान तथा भागवत प्रेमीहरुको प्रेरणास्पद पावन तथा अनुकरणीय चरित्र वर्णनले पुराणहरु भरिपुर्ण भएका छन् । सकाम–निष्काम कर्म, प्रवृति मार्ग–निवृत्ति मार्ग, वर्ण–आश्रम धर्म, ज्ञानयोग, कर्मयोग तथा नवधाभक्ति मार्गको प्रतिपादन भएका कारण सबै पुराणहरु अनमोल ज्ञान भण्डार मानिन्छन् । यसरी भौतिक तथा आध्यात्मिक विषय वस्तुको प्रतिपादनद्वारा सहृदयी जिज्ञासुजनहरुमा परमात्माको प्रकाशन गरेर मानव जीवनलाई शान्त, सुखी, समृद्धशाली र सन्तुष्ट बनाउदै “परोपकार पुण्यायः पापाय परपीडनम्” जस्तो उदात्त भावनालाई विश्वमा प्रकाश पार्नु पुराणहरुको ध्येय हो भन्ने स्पष्ट छ । तसर्थः यस अष्टादश महापुराण ज्ञानमहायज्ञको अद्धितीय अनुष्ठानमा सहभागी भई आफ्नो जीवनलाई धन्य बनाउन आयोजक पक्ष सम्पूर्ण भक्तजनहरुमा हार्दिक अनुरोध गर्दछ । भद्रमहिला एवंम सज्जनवृन्द !!
हामीले समय समयमा महापुराणहरु त सुन्ने गरेकै छौं । सुनेकै छौं,
सुनिरहेकै छौं र फेरी पनि सुनिरहने नै छौं । तर यसरी एकै पटक एउटै मण्डपमा २१ दिन भित्र मै अठारै पुराण सुन्न पाउने अवसर चै अति दुर्लभ मानिनेछ । परमेश्वर
परमात्माको ईच्छा बिना यस्तो अनुष्ठान आयोजना हुन सम्भव नै छैन । त्यसैले यस्तो अनुष्ठानमा सहभागी हुनाले, यसरी अठारै पुराणहरु एकै पटक सुन्नाले आफ्ना समस्त पितृहरुको मुक्ति तथा उद्धार हुनाका साथै सन्तार दर सन्तानको भविष्य सदा सर्वदा सुन्दर बन्ने निश्चित छ । यो अनुष्ठानमा सहभागी हुन देश विदेश र टाढा टाढाबाट पाल्नु हुने भक्तजनहरुका निम्ती त सुनमा झन सुगन्ध थपिने छ– सप्तकोशी गंगामा स्नान गर्न पाइने छ, कोकाह–कौशिकी संगममा स्नान तर्पणादी गरी पितृ सेवा गर्ने अवसर मिल्ने छ । भगवान वराहको दर्शन गर्न पाइने छ । औलिया बाबा मठ र प्रचीन हरिद्वार कुम्भ नगरी चतरा धामको अवलोकन गर्न पाइने छ । त्रेता युगमा पुरुषोत्तम श्रीरामले बालेको अग्नि रामधुनी मठ देख्न पाइने छ । विष्णु पादुकामा ब्रम्हकपाली पितृ श्राद्ध गर्न पाइने छ । शिवजट्टाको दर्शन गर्न पाइने छ । माता दन्तकाली, बुढासुब्बा बाबा, पञ्चकन्या देवीहरु र पाथिभरा मन्दिरको धरान नगरीमा नै दर्शन गरेर साक्षत महादेव भोलेबाबा पिण्डेश्वर अमृत पिण्डको अमुल्य दर्शन गर्न पाइने शुभअवसर पिण्डेश्वर अष्टादश महापुराण ज्ञानमहायज्ञमा पाल्नुहुने भक्तजनहरुलाई प्राप्त हुनेछ । यती मात्र होइन यस अनुष्ठानमा सहभागी हुने अतिथि महानुभावहरुले यस धर्मस्थली क्षेत्रको प्राकृतिक रमणियता र सुन्दर नगरी
धरानको अवलोकन गर्न पाउनुहुने छ । साथै धरान नगरवासीबाट प्राप्त हुने हार्दिक स्वागत सम्मान र आत्मियताको मिठो रसको रसोस्वादन गर्न पाउनु हुनेछ । विश्व हिन्दू परिषद् नेपाल त आयोजक संस्था मात्र हो । यस्तो महान अनुष्ठानको संकल्प त यहाँहरु जस्ता भद्र धर्मानुरागी भक्तजनहरुबाट नै हुनु पर्दछ । त्यसैले अब यहाँहरु यस्तो अपूर्व अनुष्ठानको संकल्प गर्न स्वयंम अग्रसर हुनुपर्दछ, अबिलम्ब तयार हुन हामी सादर अनुरोध गर्दछौं । यस्तो कार्य सम्पन्न गर्नका लागि संकल्प गर्न चाहनु हुने महानुभावहरुका निम्ती २१ दिन सम्म बस्ने र भोजनको यथोचित व्यवस्था मिलाइने छ । यसरी संकल्प गर्ने कार्यमा सहभागी हुन चाहने महानुभावहरुले रु. २११११÷– अक्षरमा रु. एक्काइस हजार एक सय एघार मात्र अर्पण गरी, अथवा आयोजक समक्ष अग्रिम नाम दर्ता गराई रसिद लिनु पर्नेछ । संकल्पकर्ताहरुको संख्या सिमित राखिएको हुदाँ छिटो भन्दा छिटो आफ्नो दायित्य सुरक्षित राख्न हुन हामी हार्दिक अनुरोध गर्दछौं ।
राजधानी सहित १४ अञ्चलबाट सम्पर्क गर्ने तथा संकल्प दस्तुर पठाउने कार्य भई रहेको छ । कार्यक्रममा सहभागी हुन जाँगर र उत्साहको वातावरण बनिरहेको छ । हामीले विशेष संकल्प गरी सम्पादन गर्न लागिएको उक्त कार्य विशिष्ट मात्रै होईन नेपालकै लागि अति विशिष्ठ र दुर्लभ पनि हुनेछ । उक्त विशेष कार्यलाई लक्ष्य अनुरुप सम्पन्न गर्न जटिल छ । जटिल त छदै छ । त्यसैले यो कार्यलाई सम्पन्न गर्न यहाँहरु सबैको सक्रिय सहभागिताको आवश्यकता छ । अझ संकल्पकर्ता महानुभावहरुको योगदानको महत्व झन छर्लङ्ग भएको छ । यस बाहेक स्वेच्छाले यथासक्य सहयोग गर्न चाहनुहुने महानुभावहरुबाट पनि सहयोगको अपेक्षा गर्दछौं । तपाइँहरु जस्ता उदारमना महानुभावहरुको साथ सहयोग अविच्छिन रहने कुरामा हामी दृढ विश्वस्त छौं । यहाँको तन, मन, वचन र धन हाम्रा लागि उत्प्रेरणाका स्रोत हुने छन् ।
ऐतिहासिक, पौराणिक पृष्ठभूमी रहेको साँस्कृतिक रुद्राक्षरण्य क्षेत्र उपमहानगरी धरानमा अवस्थित पिण्डेश्वर शिवलिङ्ग परिसर गीता भवन एवंम् थापा निवासको प्राङ्गण धरान–५ मा आयोजना गरिने उक्त पावन कार्यमा यहाँहरुको गरिमामय उपस्थितिका लागि हार्दिक प्रार्थना गर्दछौं ।

शोभायात्रा ः
२०७३ फाल्गुण १७ गते मंगलवार तद्नुसार २०१७ फरवरी २८
महापुराण ज्ञान महायज्ञ शुभाारम्भः
२०७३ फाल्गुण १८ गते बुधवार तद्नुसार २०१७ मार्च १
समापनः
२०७३ चैत्र ६ गते आईतवार तद्नुसार २०१७ मार्च १९

सम्पर्क
अध्यक्ष–देवराज अधिकारी ः ०२५) ५२४८१९, ९८४२०२५७००
कार्यक्रम संयोजक–राजेन्द्र शाह (अध्यक्ष, उद्योग वाणिज्य संघ सुनसरी)
०२५–५२२३१२, ९८५२०४७११०, ९८५२०४७४८५
सह–संयोजक–वरिष्ठ समाजसेवी सूर्य शेखर श्रेष्ठ ः ०२५–५२१६५९, ९८४२५२३८४४
सचिव–सीताराम आचार्यः ०२५–५२२७६२, ५२७१५५, ९८५२०४५९४५

तपाईको प्रतिक्रिया