धरान÷ धरान स्थित वी.पी.
कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार देखि अपरान्ह ५ बजे सम्म सबै खाले ओपिडि (वहिरङ) सेवा सञ्चालने भएको छ ।
यस अघि जेनेरल ओपिडि बाहेक अन्य ओपिडिहरु १ बजे सम्म मात्र सञ्चालन हुने गरेको थियो । नेपाल
सरकार स्वास्थ्य मन्त्रालयवाट स्वास्थ्य सेवा प्रवाह गर्ने सरकारी संस्थाहरुले अपरान्ह ५ बजे सम्म बहिरंग सेवा उपलब्ध
गराउन निर्देशन भई आएको हुंदा सोही निर्देशन बमोजिम सेवा सुचारु गर्न सम्बन्धित विभागहरुलाई अनुरोध गरिएको प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. अरविन्द कुमार सिन्हाले बताउनुभयो ।
छाला, नाक कान घांटी, मेडिसिन, बच्चा, हाडजोर्नी, आंखा र एनेस्थेसिया सम्बन्धि केही रोगहरुको सम्बन्धमा भने प्रतिष्ठानले अपरान्ह २ बजेपछि सुपर स्पेशलिटी क्लिनिक सञ्चालन गरी विशेषज्ञ सेवा दिंदै आएको थियो । अब भने
अपरान्ह १ बजे सम्म जुन रुपमा ओपिडि सेवा सञ्चालन हुने गरेको छ सोही अनुरुप अपरान्ह ५ बजे सम्म सञ्चालन हुने भएको छ । प्रतिष्ठानमा मन्त्रालयको निर्देशन कार्तिक १ गते बाटै कार्यान्वयनमा आएको र यसवाट विरामीहरुलाई स्वास्थ्य उपचार लिन धेरै सहज हुनुका साथै ठूलो राहत पुग्ने प्रतिष्ठानका सुचना अधिकृत सुजेन्द्र तामाङले बताउनुभयो ।
