इनरुवा÷ विना इजाजत संचालनमा रहेको पाइएपछि सुनसरी सदरमुकाम इनरुवामा दुई क्लिनिक सहित पाँच औषधी पसलमा सुनसरी प्रशासनले शिलबन्दी
गरेको छ ।
आवश्यक कागजातवीना आफुखुसी क्लिनिक र औषधी पसल संचालन गरेको पाइएपछि अनुगमन टोलीले शिलबन्दी
गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापा नेतृत्वको टोलीले क्लिनिक तथा औषधी पसल इजाजत विना संचालन गरेको पाइएको भन्दै बन्द
गराएको हो । इनरुवा अस्पतालमा लामो समययता सिनियर अहेवका रुपमा कार्यरत तारणीप्रसाद यादवले संचालन गर्दै आएको इनरुवा पोली क्लिनिक अनुगमन टोलीले बन्द गराएको छ । क्लिनिक बन्द
गराइएपछि यादवकहाँ उपचारकालागि पुगेका विरामीहरु अन्यत्र उपचार
गराउन पुगेका थिए ।
त्यसैगरी साएमा फार्मेसी एण्ड डाइग्नोस्टिक ल्याबरोटरी क्लिनिक समेत सम्वन्धित निकायबाट इजाजत नलिएको पाइएपछि बन्द गराइएको छ ।
अनुगमन टोलीले इनरुवामा
रहेका सुनसरी मोडल हस्पिटलमा संचालनमा रहेको औषधी पसल, कोशी डाइग्नोसिस एण्ड रिसर्च सेन्टर र अर्को एक नाम नखुलाई संचालनमा रहेको औषधी पसलमा शिलबन्दी
गरेको छ ।
अनुगमन टोलीले ८ स्थानमा अनुगमन गरेको थियो । जसमध्ये ५ वटा विना इजाजत संचालनमा रहेको पाइएपछि बन्द गराइएको थियो । अनुगमन टोली कडाइका साथ अनुगमनमा उत्रिएपछि केही क्लिनिक तथा औषधी पसलेहरु सटर बन्द गरी फरार भएको सहायक प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापाले बताउनुभयो ।
स्वास्थ्य जस्तो संवेदनशील
कुरासँग सम्वन्धित भएकाले कानुन विपरित सञ्चालनमा रहेका क्लिनिक तथा औषधी पसलहरु उपर कानुनी कार्वाही बाहेकको विकल्प नरहेको सुनसरी प्रशासनको ठहर छ ।
