काठमाडौं/ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) नेपाल क्रिकेट काउन्सिलमाथि लगाएको प्रतिबन्ध फुकाउन सहमत भएको छ ।
आइसीसीका कार्यकारी अधिकृत (सीइओ) डेभिड रिचार्डसनको नेतृत्वमा नेपाल आएको तीन सदस्यीय टोलीले आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसहित खेलकुद मन्त्री दलजित श्रीपाइली र राखेपका सदस्य सचिवसाग सामूहिक छलफल गरेको थियो । छलफलपछि आइसीसीको टोली नेपाली क्रिकेट संघ (क्यान) माथि लगाइएको प्रतिबन्ध हटाउन सहमत भएको हो ।
प्रतिबन्ध फुकुवा भएपनि नेपाल क्रिकेट संघ (क्यान) भने अस्थित्वमा रहने छैन । आइसीसीले नेपाली क्रिकेटको समस्या समाधानका लागि नेपाल क्रिकेट संघ (क्यान) को सट्टा ‘नेपाल क्रिकेट बोर्ड’ गठनको प्रस्ताव अघि सारेको छ । त्यसमा सरकारले सहमति जनाएपछि अब नेपाल क्रिकेट बोर्ड गठन हुनेछ ।
राखेपका सदस्य सचिव केशव विष्टले आइसीसीका प्रतिनिधिसाग भएको सामूहिक छलफलमा आफूहरु क्रिकेटमा देखिएको समस्या समाधानका लागि तयार रहेको बताएपछि आइसीसीले प्रतिबन्ध फुकुवा गर्न सहमति जनाएको बताए । उनले भने,‘आइसीसीका प्रतिनिधिले नेपाली क्रिकेटको ठूलो सम्भावना रहेको र त्यसको समाधान गर्न नै आफूहरु नेपाल आएको बताएपछि विकल्पबारे छलफल भयो । त्यसपछि क्रिकेटको पुरानो संरचनालाई हटाएर नयाा संरचनामा जाने विषयमा हामी सहमतिमा पुगेका हौं ।’
आइसीसीका प्रतिनिधिले नेपाल क्रिकेट बोर्ड गठन अघि तत्कालका लागि सल्लाहकार समिति गठन गर्ने प्रस्ताव अघि सारेको छ । सल्लाहकार समितिमा संयोजक भने कोही रहने छैनन्। सल्लाहकार समिति ५ देखि सात सदस्यीय हुने प्रस्ताव आइसीसीको छ । त्यसमा सरकार सहमत भएकाले आइतबार दिउासो बस्ने बैठकले सल्लाहकार समितिको टुंगो लगाउने सदस्य सचिव विष्टले जानकारी
दिए ।
सल्लाकार समितिले नेपाल क्रिकेट बोर्ड गठन नहुन्जेलसम्मका लागि क्रिकेटसम्बन्धी सबै काम गर्नेछ । सल्लाहकार समितिले तीन महिनाभित्र नेपाल क्रिकेट बोर्डको निर्वाचन गराउने मोटामोटी सहमति आइसीसी र नेपाल सरकारबीच भएको छ।
राखेप सदस्य सचिव विष्टका अनुसार आइसीसीले नेपाली क्रिकेटलाई गर्दै आएको सहयोग
रकम पनि छिट्टै रिलिज गर्न सहमति जनाएको छ । ‘नेपाली क्रिकेट संघभित्र विवाद भएपछि आइसीसीले रोकेको बजेट उपलब्ध गराउन हामीले आग्रह गर्यौं त्यसमा आइसीसीका प्रतिनिधिले सहमति जनाएका छन् ।सल्लाहकार समिति र नेपाल क्रिकेट बोर्ड गठनपछि सहयोग रकम उपलब्ध गराउन आइसीसी सहमत भएको छ,’ विष्टले भने ।
