धरान/ स्वास्थ्य क्षेत्रमा इथिक्स अर्थात नैतिक शिक्षाको आवश्यक रहेको भन्दै धरानस्थित वीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकदिने कार्यशाला गोष्ठी सोमबार सम्पन्न भएको छ ।
समयसंगै चिकित्सकहरुद्वारा
विरामीप्रति गरिने व्यवहारमा सुधार ल्याउनुपर्ने आवश्यकता भएसंगै विरामी र चिकित्सकबीचको सम्बन्धमा अन्तरक्रिया, छलफल भएपनि यसमा सोचेजस्तो सुधार नआएपछि चिकित्सकलाई पनि नैतिक शिक्षाको आवश्यकता महसुस
गरी पाठ्यक्रममै यसलाई समावेश गर्नका लागि पहलकदमी गर्ने उद्देश्यले नेपालमा रहेका स्वास्थ्य शिक्षण सस्थाहरुका विशिष्ठ चिकित्सक, स्वास्थ्य मन्त्रालय ,नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिहरुबीच एक दिने कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानकी प्रोफेसर डा. रुपासिंह भण्डारीले जानकारी दिनुभयो ।
उहाले पछिल्लो समयमा व्यस्त जीवनसंगै विरामी र चिकित्सकबीचको दुरी बढ्दै गएको भन्दै यसलाई चिकित्सा सम्बन्धी सबै पाठ्यक्रममा समावेश
गरेर लगिए स्वास्थ्य क्षेत्रको प्रभावकारिता अझै बढेर जाने बताउनुभयो ।
दिनानुदिन बढ्दै गइरहेको चिकित्सा अध्ययन सस्थानहरु, स्वास्थ्य शिक्षा, अध्ययनमा देखिएका नैतिक शिक्षामा देखिएका चुनौतिहरु, विश्वव्यापीकरण र प्रविधिमा भइरहेको प्रगतिको विषयमा पाठ्यक्रममै समावेश हुन आवश्यक भइसकेको भारत सिक्किमकी चिकित्सक एवम इथिक्स विज्ञ प्रा.डा. मिङ्माल्हामु शेर्पाले बताउनुभयो । उहाले चिकित्सा क्षेत्रमा पछिल्लो समयमा बढ्दै गएको चुनौतिको सामना गर्दै विरामी र चिकित्सकबीचको समन्वयमा उपचार पद्धति उत्कृष्ट बनाउनको लागि चिकित्सा क्षेत्रमापनि नैतिक शिक्षाको आवश्यकता महसुस गरी यसलाई पाठ्यक्रममै समावेश गरेर लानुपर्ने आवश्यकता
रहेको उहाको भनाई थियो ।
चिकित्सा र स्वास्थ्य क्षेत्रका शिक्षा, सेवा र अनुसन्धानमा इथिक्सको अध्यापन, तालिम र अनुसन्धानको लागि सन् २०१४ जनवरी २३ देखि युनेस्को इथिक्स चेयरले जोड दिर्दै आएपनि सोचेजस्तो उपलब्धी हुन नसकेको चिकित्सकहरुको भनाई थियो । गठनसागै विश्वभरि नै सञ्जाल गठन गरेसागै नेपालमा पनि इनेस्को वायोइथिक्स सञ्जाल, नेपाल युनिट गठन गरी चिकित्सा क्षेत्रमा नैतिक शिक्षाको अध्यापनको लागि पाठ्य क्रममा समावेश गरेर लानुपर्ने
कुरामा पहल हुदै आइरहेको छ ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.बीपीदाशले उद्घाटन गर्नुभएको सो कार्यशाला गोष्ठीमा इथिक्स विज्ञ प्रा.डा. रमेशकान्त अधिकारी, प्रा.डा मिङ्माल्हामु शेर्पा, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, स्वास्थ्य संगठनका प्रतिनिधिलगायत नेपालभरिका शिक्षण स्वास्थ्य सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
