धरान/ नेपालको पर्यटकीय स्थल छिमेकी मुलुक भारतमा प्रचारप्रसार गर्ने उद्देश्यले साइकिलिङ धरान मंगलबार भारततर्फ प्रस्थान गरेका छन् ।
नेपालमा भएका प्राकृतिक सुन्दरता, धार्मिक पर्यटकीय क्षेत्र, साहसिक खेलको शुभारम्भ लगायतका विषयलाई प्रचार गर्ने उद्देश्यले त्यसतर्फ साइकलिङको टोली मंगलबार विहान विहान ४ बजे नै त्यसतर्फ प्रस्थान गरेको हो ।
यात्राको क्रममा धरानको विजयपुरमा रहेको बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, पञ्चकन्या मन्दिरसंगै सुनसरीको चतरामा रहेको बराहक्षेत्र, विष्णुपादुका मन्दिरको विषयमा जानकारी गराउनुका साथ पर्यटकीय क्षेत्र भेडेटारको समेत प्रचारप्रसार गर्ने आयोजकले जानकारी दिएको छ ।
धरानबाट शुरु हुने यात्रा भारतको दार्जिलिङ्ग, सिङताम, ग्यान्टोक, सिलिगुढीसम्मको ६ सय ७९ किमी यात्रा तय गर्दै त्यस स्थानमा पूर्वाञ्चलमा रहेका पर्यटकीय क्षेत्रको समेत प्रचार प्रसार गर्ने टोलीका संयोजक कृष्ण केसीले जानकारी दिनुभयो ।
धरान उपमहानगरपालिकाको सहयोगमा प्रत्येक बर्ष गर्दै आइएको साइकल यात्राले नेपालको पर्यटकीय स्थलको परिचयमात्र हैन नेपाल र भारतकोबीचको छिमेकी सम्बन्ध अझ प्रगाढ बनाउने काम गरेको धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले बताउनुभयो ।
वातावरण प्रदुषरहित सहर बनाउने उद्देश्यका साथ धरानलाई साइकल सिटी बनाउने अभियान अगाडि बढिरहेको सन्दर्भमा धरानलाई साइकलसिटीको सहर बनाउन थप मद्धत पुग्ने अपेक्षा समेत गरिएको छ ।
