गोविन्द बस्नेत
धरान/ विगतको साधारण सभा मनाउदा खुशियाली साटासाट गर्ने होटल व्यवसायीहरु यसपटक भने निराश देखिन्थे ।
होटल व्यवसायीहरुको छाता संगठन होटल एसोसिएन अफ धरानको सोमबार १८ औ बार्षिक साधारणसभामा उपस्थिति हुने व्यवसायीहरुको अनुहारमा खासै खुशियाली नछाएको स्पष्ट देखिन्थ्यो ।
पछिल्ला समयमा चार महिना अगाडिदेखि भारतले गरेको नाकाबन्दी र मधेशी मोर्चाले लगातार गरेको आन्दोलनका कारण सबैभन्दा बढी
मारमा होटल व्यवसायी भएको उनीहरुले कार्यक्रममै व्यक्त गरे ।
ग्याास लगायत होटलमा चाहिने अत्यावश्यक सामाग्री भारतदेखि आउन नसक्नु र आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल नबढ्नुकै कारण ५० प्रतिशत भन्दा बढी होटल व्यवसायी व्यवसाय नै छोडेर विस्थापित हुन बाध्य भएको होटल एसोसिएसन अफ धरानका सचिव श्याम पोख्रेलेको भनाई छ ।
ग्याास अभावका कारण दाउरामा आगो बाल्नुपर्ने बाध्यता तथा पर्यटकसमेत ६० प्रतिशतले घटेपछि उनीहरुको व्यवसाय चौपट भएको स्वयम् उनीहरुले गुनासो गरेका छन् । सरकारले समेत यस्तो अवस्थामा ध्यान दिन नसक्दा आफूहरु बढी मारमा परेको उनीहरुले बताएका छन् । होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य एवम् पर्यटक व्यवसायी महेन्द्र प्रधानले व्यवसायीहरुले विगतमा गरेको लगानी डुबेर ऋण तिर्न नसकी व्यवसाय छोडेर भाग्न बाध्य हुने अवस्था आइसकेको बताउनुभयो । उहाले सरकारले विगतका लिएका ऋणको व्याज मिनाहा गरी सहयोग
गरेमा जसोतसो गरी व्यवसाय टिकाउन सजिलो हुने बताउनुभयो ।
यी दुई होटल व्यवसायी त प्रतिनिधि पात्र मात्र हुने साधारणसभामा उपस्थिति हुने सबैको भनाई उस्तै थियो । लामो समयदेखि भारतले गरेको नाकाबन्दी र मधेशी मोर्चाले गरेको आन्दोलनका कारण व्यवसाय चौपटमात्र हैन सञ्चालन गरेको व्यवसायको आर्थिक भार बढ्नुको साटो झन झन खस्किदै गएपछि पलायन हुने अवस्थामा पुगिसकेको बताउदै आएका
छन् । यसमा सरकारले अब सोच्ने बेला आइसकेको बताउदै चाडो भन्दा चाडो वातावरण सहज बनाउन माग गरेका छन् ।
धरान १५ रिक्रेसन प्रा.लि.मा भएको १८ औं साधारणसभा तथा ९ औ अधिवेशनको उद्घाटन अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी पवनप्रसाद खरेलले गर्नुभएको थियो । एसोसिएसनका अध्यक्ष सुवर्ण श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा महासचिव उमेश मास्केले महासचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रतिवेदनमा धरानमा साना ठूला गरी ८ सय वटा होटल सञ्चालनमा रहेका छन् भने यी मध्ये एसोसिएसनमा १ सय ३० वटा दर्ता रहेको उल्लेख गरिएको छ । विगतमा ३ सय भन्दा बढी दर्ता रहेको एसोसिएसनमा अहिले आएर घट्दै जानुले होटल व्यवसायीहरुले होटल छोडेर पेशा
परिवर्तन गर्न बाध्य भएको प्रष्ट हुन्छ ।
