लिम्बुवानद्वारा तेस्रो चरणको आन्दोलनको घोषणा

अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान राज्य घोषणाका लागि दबाब दिने उद्देश्यले गठित लिम्बुवान संयुक्त संघर्ष समितिले पुन: तेस्रो चरणको आन्दोलनको घोषणा गरेका छन् ।
मोर्चामा आवद्ध नौ वटा पार्टी तथा लिम्बुवानको समर्थन गर्ने संगठनको मोर्चा लिम्बुवान संयुक्त संघर्ष समितिले सोमबार धरानको भानुचौकमा पत्रकार सम्मेलनको आयोजना गरी तेस्रो चरणको आन्दोलनको घोषणा गरेको हो ।
भदौ १७ गते वृहत खबरदारी सभा, भदौ २४ र २५ गते शान्तिपूर्णं आम हड्ताल सम्पन्न गर्दा समेत सरकारले कानमा तेल हालेर बसेको भन्दै उनीहरुले दबाबस्वरुप सोमबारबाट नै दबाबमूलक आन्दोलनको शुरुवात गरेका छन् ।
कार्यक्रम अनुसार सोमबार पत्रकार सम्मेलन र तेह्रथुमको बसन्तपुरमा खबरदारी सभा, २९ गते केर्खा झापामा खबरदारी सभा, ३० गते पथरी मोरङ्गमा खबरदारी सभा र असोज १, २ र ३ गते लिम्बुानव्यापी चक्काजामको घोषणा गरेको छ ।
आन्दोलनलाई शसक्त बनाउन
किरात याक्थुङ चुम्लुङको सहकार्यमा ९ लिम्बुवान पार्टी र लिम्बुजन्य संघसंगठनहरुलाई मोर्चामा आवद्ध
गराएर आन्दोलन गर्नुपरेको किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष उत्तमसिंह थाङदेनले जानकारी दिनुभयो ।
मोर्चामा आवद्ध संघीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङदेनले अब बन्ने संविधानमा लिम्बुवानको मुद्दालाई वाइपास गरेर अघि बढ्न खोजेकोले सशक्त आन्दोलनका लागि मोर्चाबन्दी गरेर आन्दोलन थालिएको बताउनुभयो ।
उहाले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापश्चात आफूहरुले धर्मनिरपेक्ष राज्य, समानुपातिक निर्वाचन प्रणाली, वहुभाषिक नीति, आइएलओ १६९, युनडिपीलाई संस्थागत गर्न आन्दोलन थालिएको समेत स्पष्ट पार्नुभयो ।
मोर्चामा किरात याक्थुङ चुम्लुङ, एनेकपा माओवादीको लिम्बुवान मुक्ति मोर्चा, नेकपा एकीकृतको लिम्बुवान स्वसासित संघ, राष्ट्रिय जनमुक्ति पार्टीको लिम्बुवान राज्य परिषद्, नेकपा माओवादी सम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, पदम अधिकारी अध्यक्ष रहेको लिम्बुवान मुक्ति मोर्चा, संघीय लिम्बुवान पार्टी, संघीय समाजवादी फोरम आवद्ध लिम्बुवान प्रदेश समिति, सामाजिक लोकतान्त्रिक पार्टी आवद्ध रहेका छन् ।

तपाईको प्रतिक्रिया