झापाको अर्जुनधारास्थित साधुटारमा अन्तर्राष्ट्रिय साहित्यिक महोत्सव हुँदै

झापा (शनिश्चरे) । झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं. १ स्थित साधुटारमा तीनदिने अन्तर्राष्ट्रिय साहित्यिक पर्यटन महोत्सव हुने भएको छ ।
साधुटारस्थित शंकराचार्य वेद वेदाङ्ग संस्कृत पाठशाला र सिद्धेश्वर कामदा गौशालामा महोत्सवको आयोजना गर्न लागिएको महोत्सवका संयोजक डा. गोपी खतिवडाले जानकारी दिनुभएको छ । धार्मिक तथा पर्यटकीय स्थलका रूपमा रहेको साधुटारको महत्व एवम् महिमालाई अन्तर्राष्ट्रिय जगतमा फैलाउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको संयोजक खतिवडाले बताउनुभयो ।


महोत्सव आगामी फागुन २८, २९ र ३० गते आयोजना हुने भएको छ । महोत्सवमा नेपालका सातै प्रदेशका कवि, साहित्यकार, लेखक, समालोचक, आख्यानकारसँगै भारतको आसाम, सिक्किम, दार्जिलिङ, मणिपुर, पश्चिम बंगालको कोलकाता, गोरखपुर लगायतका स्थानबाट आउनु भएका स्रष्टा एवम् धार्मिक व्यक्तित्वहरूको तीन दिनसम्म आवासीय सहभागिता रहने शंकराचार्यपीठ वेद वेदाङ्ग संस्कृत पाठशाला तथा सिद्धेश्वर कामदा गौशालाका आचार्य लक्ष्मीप्रसाद खतिवडाले जानकारी दिनुभयो । भारतको पूर्वोत्तर राज्यहरूबाट आउनु हुने साहित्यकार एवम् स्रष्टाहरूलाई फागुन २८ गते आयोजकका तर्फबाट मेची पुलमा भव्यताका साथ आतिथ्य सत्कार गर्दै महोत्सव स्थल पु¥याइने भएको छ भने अन्यत्रबाट आउनु भएकाहरूलाई समेत फरक–फरक स्थानमा स्वागत गर्दै कार्यक्रम स्थल पु¥याइने भएको छ । आयोजकका तर्फबाट यसका लागि एक बृहत् स्वागत समिति नै गठन गरिएको संयोजक खतिवडाले धरान साप्ताहिकलाई जानकारी दिनुभयो । कार्यक्रमको दोस्रो दिन शंकराचार्य पीठ वेद वेदाङ्ग संस्कृत पाठशाला र सिद्धेश्वर कामदा गौशालाको धार्मिक गतिविधि जानकारी, झापाका २० वटा भन्दा बढी गुरुकुलका विद्यार्थीहरूलाई छन्द कविता लेखन सम्बन्धी प्रशिक्षण, चुरे क्षेत्र तथा मदन भण्डारी लोकमार्गको अवलोकन, विद्यार्थीहरूद्वारा छन्दमा लेखिएका कविता वाचन, भजन–कीर्तन, काव्यसभा आदिको आयोजना हुने भएको छ । महोत्सवको अन्तिम दिन गुरुकुलीय गतिविधिसँगै सम्मान र समापन हुने भएको संयोजक खतिवडाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया