घण्टाघरबाट हेर्दा

धमलाको बहुमत
जनता जान्न चाहन्छन् भनेर बडो फूर्तिका साथ अरूलाई टसमस हुनसम्म नदिने ऋषि धमलाले रौतहटबाट बहुमत ल्याएछन् । सर्वाधिक बहुमत ६ मत ल्याएर धमलाले सबैलाई आश्चर्यचकित बनाइदिएका छन् । विगत दुई महिनादेखि रौतहटमा कडा मेहनत गर्दै आएका थिए धमला । जुन घरमा गएर जाँतो सिदिएका थिए त्यहाँकी गृहणीले एक भोट दिइछन्, जुन घरमा गएर बढारिदिए त्यस घरकी गृहणीले एक भोट दिइछन्, जुन घरमा गएर ढिकी कुटिदिए त्यस घरकी गृहणीले एक भोट दिइछन् । जुन घरमा गएर विस्कुन सुकाइदिए त्यस घरकी गृहणीले एक भोट दिइछन्, जुन पसलमा गएर सेलरोटी, जेरी, समोसा बनाउन सघाए त्यस पसलका साहुजीले पनि एक भोट हालिदिएछन् । अझै डिजे नाचबाट प्रभावित भएकाले पनि एक भोट हालिदिएछन् । जम्मा ६ भोट बहुमत ल्याएपछि धमला कम्ता फुरुङ्ग भा’थेनन् । अझै भारी बहुमत आउनुपथ्र्यो भन्दै उनले धेरै खोजी गरे । खोज्दा खोज्दा हैरान भएछन् । जेहोस्
रौतहटबासीले धमलालाई बहुमत दिएर स–सम्मान साथ बिदा गरेर घर पठाइदिएका छन् ।
माकुने गायव
बीसवटा पार्टी मिलेर बडेमानको पार्टी बनाएका नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माकुने लापत्ता भएको खबर आएको छ । निर्वाचनका बेला रौतहटबासी मतदाताहरूले जमिनमै पछारिने गरी मत दिएपछि बिचरा गन्हाउने मुख देखाउन सरम लागेपछि लापत्ता भएको माकुनेका स्वकीय सचिवले जानकारी दिएका छन् । निर्वाचन अगाडि त बुकुने खुट्टा बुरुक–बुरुक उचाले हामी बहुमत ल्याउँछौँ भन्थे । सरकार हाम्रै पार्टीको बन्छ भनेर फुइँ लगाउँथे । ललिता निवास, पतञ्जलीको जग्गा काण्डमा गतिलै डकारे पनि हामी निस्कलंकित छौँ भन्थे । त्यहाँका मतदाताहरूलाई बिना ढेउवा, बिना भिसा विदेशमा रोजगारीका लागि पठाएकै थिए । यस्ता असल मान्छेलाई पनि त्यसरी लखेट्नै हुन्नथियो । रौतहटबासी पनि साह्रै मापाका रैछन्, अब माकुने के गर्लान् ? बरु यसो जजमानीतिर लागे पुख्र्यौली पेशाको बिडो नि थामिने थियो ।
सबैलाई तोरीको फूल देखाइदिए

राजनीतिमा आफूलाई तीसमार खाँ सम्झनेहरू यतिबेला उत्तानो परेर पल्टिएका छन् । एउटै बालेनले सबैलाई तोरीको फूल देखाइदिएका छन् । देशैभरि घण्टी बजाएर हिँड्दा, ठामठाममा र्याप गाउँदा, जुल्फा हल्लाएर नाच्दा खुबै खिसिटिउँ गर्थे । घण्टी बजाएर, र्याप गाएर नाच्दा पनि कहीँ भोट आउँछ ? राजनीतिमा विचार हुनुपर्छ, सिद्धान्त हुनुपर्छ, आदर्श हुनुपर्छ, अठोट हुनुपर्छ भनेर खित्का छोड्थे । नेपाली जनता मनोरञ्जनप्रेमी छन् भन्ने कुरा पुराना ठेकेदारहरूले भुसुक्क बिर्सिए । पैतीस वर्षदेखि सिद्धान्त, विचार, आदर्श, अठोटका पछि लागेकै थिए । तर साँढेको राजधानी नझरेपछि कतिञ्जेल पछि लागून त ?
अवकी वार बाख्रे सरकार
निर्वाचन आयोगसँग पार्टी किनेर सभापति भा’का गनगने काजी उर्फ बाख्रेले अमरेश कुमार सिंहले कुस्तीमा सर्लाहीमा उचाल्दै पछार्दै गरेछन् । यस्तो देख्दा बाख्रेका हनुमानहरूको मन कति अमिलो भा’होला । सामाजिक सञ्जालमा खुबैसँग अबकी वार बालेन सरकार भनेर बुरुक–बुरुक उफ्रन्थे । फेरि बाख्रे साहेब पनि बुद्धि चाहिँ नभाकै रै’छन् । आफ्ना थाँतथलो चटक्क छोडेर सर्लाहीतिर मुन्टिनै हुँदैन थियो । घरकालाई छोडेर टुरिस्ट उम्मेदवारलाई सर्लाहीबासीले जिताउने कुरा पनि भएन । थपक्क यसभन्दा अगाडि जहाँबाट उठ्या थिए त्यहीबाट उठेको भए मतदाताको मन पग्लन पनि सक्थ्यो । पार्टी कब्जा गरेर हतार–हतार प्रधानमन्त्रीको दाबेदार पनि घोषणा ग¥या थिए । अन्ततः सर्लाहीबासीले देखाइदिए तल्कुरे ‘कु’ ।
पिण्ड खानेबेलामा पीरैपीर
पदमा छँदा अरूलाई माखो समेत नसम्झने झालेमालेका सुप्रिमो खप्रओ अब गुण्डुतिरै डल्लो परेर सिद्धिने भए । विचारालाई पिण्ड खानेबेलामा साह्रै ठूलो पीर पर्यो । जमाना नटुवाको हो, गीतांगेको हो, चटकेको हो भन्ने जान्दाजान्दै वित्थामा किन चुनावमा उठ्नु ? हुन त खप्रओलाई आफ्नैले धोका दिए, पछाडिबाट छुरा हाने। चुनाव अभिघ त एरै, गैरे नथ्थु खैरे सबबै केपी बा आइलभयु भन्नेको हुँदैन सानो थिएन । चुनावका बेला त्यसरी आइलभयु भन्नेहरू कता मुन्टिएछन् ? हैन हो बा त आफूलाई राजनीतिको चतुर खेलाडी पो सम्झन्थे । पुराना, काम नलाग्ने, झन्डुमारहरूलाई सदाका लागि
राजनीतिबाट पन्छाउन दुई वर्ष पछिको चुनाव दुई वर्ष अगाडि गराएको भन्ने कुराको सुइँकै पाएनन् कि क्या हो ? त्यसैले भन्या बाठो लड्छ तीन बल्ड्याङ, लाटो लड्छ एक बल्ड्याङ ।
स्यालबहादुरले बुद्धि पु¥याएछन्
लाउरेका ठेट्नाहरूले विशेष महाधिवेशनको नाममा फुटबल हानेर आउट गरिएका बुढानिलकण्ठे काजी आच्या स्यालबहादुरले बेलैमा बुद्धि पु¥याएछन् । निर्वाचनमा मेद्वारी नदिएर धन्न बुद्धि पु¥याएको देखियो । उम्मेदवारी दिएको भए झालेमालेका खप्रओकै हालत हुने रै’छ । यतिका वर्षदेखि कहिल्यै निर्वाचनमा पराजित भा’ थिएनन् । घाटतिर जाने बेलामा चचिप्लेका भए के दशा हुन्थ्यो ? बेलैमा चुनाव नलड्ने घोषणा गरेर सिङ्गापुरतिर बुढ्यौली हनीमुन मनाउन गएछन् ।
लठ्यौरा पुनले अचम्मै गरे
लठ्यौरा वैज्ञानिक महावीर पुनले यसपटक अचम्मै गरे । म्याग्दीबाट स्वतन्त्र रूपमा चुनाव लडेका जितेर देखाइदिए । तिनले चुनाव जित्लाउन भनेर कसैले पत्याएकै थिएनन् । सानदारसँग् जिते । भगवानले चुनाव लड्न पठाए, भगवातले पठाएपछि उठ्नै प¥यो, नत्र भगवान रिसाउलान भन्ने लाग्या थियो रे । म्याग्दीका जनताले पनि राम्रै गरेछन् । चुनावमा भोटमात्र दिएनन्, नोट पनि दिए । नोटले खर्चबर्चको जोहो भयो, भोटले सांसद बनायो । निर्वाचन अवधिभर ननुहाई घरदैलो गर्दा लहै महावीर पुन आयो भन्दै हिँडेका थिए । दलका पुराना उम्मेदवारसँगचाहिँ भगवानले यस पटक गाँड फाडेर लिएछन्, नांगै बनाइदिए ।
अन्त्यमा
रुकुममा गएर बल्ल तल्ल ठेलठाल, कनकान गरेर चुनाव जितेका प्रचण्डाउले भन्या रास्वको नेतृत्व मैले नै गर्नुपर्ने महसुस गरेको छु रे । न साइने, न नाता–गोता । रास्वपाले यिनलाई गन्ज्तिनमै राखेका छैनन् । हैन हो, बोल्दा पनि अलिकति थुतुनो सच्याएर बाल्नु नि । जता मल्खु त्यतै ढल्कु । विगतमा एमाले ठूलो दल हुँदा नेतृत्व हत्याउन सक्छु कि भनेर रातारात भित्रिएका थिए । पछि कुराको चुरा बुझेपछि खप्रओले जोरलात्ती बजाएर सडकमा पु¥याइदिएका थिए । अब अहिले तिन्का नजर रास्वपातिर सोझिन थालेका रैछन् । रास्वपाका लाउकेहरू लाटा छैनन् । देश खाएर शेष भा’का छन् । फेरि यिनलाई नेतृत्व किन दिन्छन् ?

तपाईको प्रतिक्रिया