धरान/प्राथमिक उपचारको अभावमा विरामीहरु अस्पतालसम्म आइपुग्न सक्ने अवस्था अत्यन्तै न्यून भएको भन्दै नेपाल रेडक्रस सोसाइटीले सुनसरीमा रहेका एम्बुलेन्स चालकहरुलाई प्राथमिक उपचारको एक दिने अभिमुखीकरण तालिम दिएको छ ।
दुर्घटना वा भइपरी आएको अवस्थामा विरामीलाई सकुसल अस्पतालसम्म ल्याउन अत्यन्तै कठिन भएकोले प्राथमिक उपचारका विषयमा एम्बुलेन्स चालकलाई थोरै भएपनि ज्ञान होस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापाले जानकारी दिनुभयो । उहाले विरामीहरुलाई सहज रुपमा अस्पतालसम्म पुगुन भन्ने अपेक्षाले नै यो तालिमको आयोजना गरिएको बताउनुभयो ।
यस्तै तालिमका सहजकर्ता उमेश सुवेदीले समेत प्राथमिक उपचारको अभावमा विरामीहरुले अकालमा मृत्युको मुखमा पुग्नु नपरोस् र सहज ढंगले अस्पतालसम्म पुुर्याउन सकियोस् भन्ने उद्देश्यले विगतदेखि नै यस प्रकारको आधारभूत तालिम दिने गरेको बताउनुभयो । बर्षेनी चालकहरु फेरिने क्रम नरोकिएकोले प्रत्येक बर्ष तालिमको आयोजना गर्दै आएको बताउनुभयो ।
तालिममा अक्सिजनको मात्रा, हातखुट्टा भाच्चिएका, दुर्घटना भएका घाइतेलाई कस्तो प्रकारको प्राथमिक उपचार गर्ने र अस्पतालसम्म कसरी पुुर्याउने भन्ने विषयमा प्रत्यक्ष रुपमा देखाएरै सिकाइएको थियो ।
सुनसरीका २९ जना एम्बुलेन्स चालकलाई एकै स्थानमा राखेर सिकाइएको व्यवहारिक प्राथमिक तालिममा सहभागीहरुले समेत आफूले प्राथमिक उपचारको विषयमा सिक्ने मौका पाएको बताएका छन् । प्राथमिक उपचारको विषयमा आफूहरुलाई ज्ञान नहुदा विरामीहरुलाई अस्पतालसम्म पुर्याउन कठिन भएको बताउदै यस तालिमपश्चात सहज हुने बताएका छन् । तालिमलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी सिनियर स्टाफ नर्स निर्मला अधिकारी, नेपाल रेडक्रस सोसाइटीका तर्फबाट डम्बरप्रसाद सिग्देल, सालिकराम शर्मा बज्गाई, उमेश सुवेदी, सुजाता श्रेष्ठले सहजीकरणको भूमिका खेलेका छन् । सुनसरीमा एम्बुलेन्स चालकको संख्या ७९ भए पनि बन्द, हड्तालका कारण २९ जनामात्र सहभागी रहेका छन् । बाकी एम्बुलेन्स चालकलाई पछि तालिमको आयोजना गरिने रेडक्रसले जानकारी दिएको छ ।
