धरान । धरानलाई प्रायः कालोपत्रेको सहरका रूपमा चिनिन्छ । मुख्य सडक मात्र होइन, शाखा सडकसमेत स्थानीयकै पहलमा कालोपत्रे हुँदै आएका छन् । तर पछिल्लो समय धरान उपमहानगरपालिका वडा नं. १२ बाट धरान १८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने मुख्य सडकको दयनीय अवस्थाले दुर्घटनाको जोखिम अत्यधिक बढाएको छ । धरान १२ चतरालाइनबाट धरान १८ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान १७ रेल्वे हुँदै धरान ११ मंगलबारे पुग्ने सडकको अवस्था हेर्दा, धरान कालोपत्रे सहर नभई दुर्घटनाको जोखिम निम्त्याउने सहरझैँ देखिन थालेको छ । उक्त सडकअन्तर्गत धरान उपमहानगरपालिका कार्यालय गेटअगाडि केही समयअघि परेको ठूलो खाल्डा पुरिए पनि त्यहाँबाट धरान ११ आपगाछीसम्म पुग्ने करिब दुई किलोमिटर सडक भने जथाभावी बनेका खाल्डाखुल्डीले भरिएको छ । सडक मर्मत तथा खाल्डाखुल्डी टाल्ने कार्यप्रति उपमहानगरपालिकाले चासो नदेखाउँदा दुर्घटनाको जोखिम दिनप्रतिदिन बढ्दै गएको स्थानीयको गुनासो छ ।

स्थानीयका अनुसार सडकमा रहेका खाल्डाखुल्डीले सवारी आवागमन मात्र होइन, पैदलयात्रीको सुरक्षासमेत चुनौतीमा पारेको छ । लामो समयसम्म मर्मत नहुँदा सम्बन्धित निकायको उदासीनता झल्किने उनीहरूको भनाइ छ । खाल्डाखुल्डीका कारण यात्रु बोकेर गुड्ने सवारी साधनहरू झनै जोखिममा पर्ने गरेका छन् । खाल्डा जोगाउन खोज्दा अर्को सवारीसँग ठोक्किने अवस्था आउने भएकाले दुर्घटनाको सम्भावना उच्च रहेको सवारी चालक बताउँछन् । सवारी चालकका अनुसार धरानका धेरै स्थानमा यस्तै खाल्डाखुल्डी छन् । गत असोजमा परेको अविरल वर्षाले सडक क्षतिग्रस्त भई बनेका खाल्डाखुल्डी अहिलेसम्म मर्मत हुन सकेका छैनन् । धरान १२ चतरालाइनबाट धरान १८ बीपी क्याम्पसम्म दैनिक सयौँ सवारी साधन सञ्चालन हुने गर्छन् । बिरामी बोकेर आवतजावत गर्ने एम्बुलेन्स तथा अन्य सवारी साधनका लागि यो सडक दिनप्रतिदिन झनै जोखिमपूर्ण बन्दै गएको छ । तर यस गम्भीर समस्यातर्फ सम्बन्धित निकायको ध्यान अझै पुग्न सकेको छैन ।
