धरान । भगवान शिर्डी साइबाबाको जन्मोत्सव देशभरका साइ मन्दिर तथा भक्तघरमा भक्तिभावका साथ मनाइएको छ । बिहानैदेखि मन्दिरहरूमा पूजापाठ, आरती, भजन–कीर्तन तथा विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रमहरू आयोजना गरिए । धरानमा पनि साइबाबाको जन्मोत्सव धुमधामका साथ मनाइएको छ । साताव्यापी रुपमा मनाइएको सो जन्मोत्सवमा शिक्षा दिवसको रुपमा मनाइएको थियो । धरानमा रहेका बालविकास केन्द्रका विद्यार्थीहरुसहित झाकीसहितको ¥यालीको आयोजनासहित धरानको परिक्रममा गरिएको आयोजक समितिले जनाएको छ । ¥यालीपश्चात प्रसाद ग्रहण समेत गरिएको आयोजिक समितिकी सदस्य रेखा श्रेष्ठले जानकारी दिनुभयो ।

साइबाबाको १ सय बर्षको जन्मदिनमा आयोजकले नारी दिवस अन्तर्गत अस्पतालमा गएर विभिन्न सामाग्री वितरण गरेको थियो भने साइबाबाले नारीको सम्मान स्वरुप हरेक महिनाको अग्रेजी १९ तारेखका दिन नारी दिवस मनाउने गरिएको छ । त्यसबेला अस्पतालमा गएर विरामीको सेवा गर्ने, सुत्केरी महिलाको सेवा गर्ने भए पनि बर्षको एक दिन अर्थात साइबाबाको जन्मोत्सवको दिन भने भव्यताका साथ मनाउने गरिएको अर्की सदस्य सुमी राईले बताउनुभयो ।
जन्मोत्सवको अवसरमा बिहानै भक्तजनहरूले साइबाबाको मूर्ति तथा तस्बिर अगाडि दीप प्रज्ज्वलन गरी काकड आरती, मध्याह्न आरती, धुप आरती र शेज आरती सामूहिक रूपमा गाउने प्रचलनरहेको छ । । मन्दिरमा विशेष सजावटसहित दूध, दही, घ्यू, मह र सुगन्धित पानी प्रयोग गरी साइबाबाको अभिषेक पूजा सम्पन्न गर्ने र। फूल, धूप, चन्दन र अक्षता चढाउने गरिन्छ । भक्तहरूले साइबाबाको जीवन र शिक्षाबारे प्रकाश पार्ने साई सत्चरित्र पुस्तकको सामूहिक पारायण गर्ने, कतिपय मन्दिरमा सप्ताहव्यापी पारायण कार्यक्रम जारी राख्ने समेत गरिएको छ । साइबाबाको “सबका मालिक एक” र ‘सेवा नै सबैभन्दा ठूलो पूजा’ भन्ने सन्देशअनुसार विभिन्न सामाजिक सेवाका कार्यक्रम पनि सञ्चालन गरिने गरिएको छ । अन्न दान, रक्तदान, निःशुल्क स्वास्थ्य शिविर र असहाय, वृद्ध तथा अनाथलाई सहयोगसमेत गर्ने गरिएको छ । साइबाबा जन्मोत्सवका कार्यक्रमहरूले भक्तजनहरूलाई आध्यात्मिक अनुभूति दिलाउँदै समाजसेवामा प्रेरित गर्ने गरेको आयोजकले जनाएका छन् ।
