धरान । दुई बर्ष अगाडिदेखि एशियन मापदण्डमा निर्माण भइरहेको पूर्व पश्चिम महेन्द्र राजमार्गको काँकडभिट्टा लविपुर सडकको काम हालसम्म २५ प्रतिशत पूरा भएको छ । निर्माणाधीन ६ लेनको सडक सञ्जालले एशियाली राष्ट्रहरुलाई जोड्ने उद्देश्यले राखिएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा तीन बर्षमा सम्पन्न गर्ने गरी निर्माण भइरहेको काँकडभट्टा–लौकही (हाल इटहरीको लविपुरसम्म) सडकको हालसम्मको समग्र भौतिक प्रगति २५ प्रतिशतमात्र पूरा भएको छ । निर्माण थालेको एक बर्षसम्ममा यसका भौतिक प्रगति १२ प्रतिशत रहेकोमा हाल बढेर २५ प्रतिशत पुगेको हो । यो सडक २०८० माघ १९ गते सम्झौता भई २०८१ जेठ ९ मा निर्माण शुरु भएको हो ।
एसियाली विकास बैंकको ८४.१० प्रतिशत

हाल निर्माण भइरहेको सडकको लागि एसियाली विकास बैंकको ८४.१० प्रतिशत ऋण र नेपाल सरकारको १५.०९ प्रतिशत लगानी रहेको छ । काँकडभिट्टादेखिको लौकहीसम्मको १२० किमी सडकको स्तरोन्नति गर्ने भनिए तापनि काँकडभिट्टादेखि इटहरीको पकली लविपुरसम्मको ९५.७६ किमी सडकको मात्र ठेक्का लागेर काम शुरु भएको हो । इटहरीको पकली लविपुरदेखि लौककी सम्मको २४.२४ किमी सडकको भने अझै ठेक्का लाग्न समेत सकेको छैन । यो सडक खण्डको ठेक्का नलाग्नुको मुख्य कारण कोशी नदीमाथि निर्माण हुने नयाँ पुलको अन्यौलता नै हो । कोशी नदीमा नयाँ पुल कहाँबाट बनाउने भन्ने कुराको टुंगो लाग्न सकेको छैन । जसले गर्दा पश्चिमी सडक खण्डको काम समेत अन्यौलमा परेको छ । ्कोशी नदीमा हाल रहेको पुल जीर्ण र दुई लेनको मात्र रहेको छ । हाल रहेको पुलको उत्तरबाट नयाँ पुल बनाउने यो्जना अगाडि सारिए तापनि त्यहाँ रहेको कोशी टप्पु वन्यजन्तु आरक्षणलाई असर पर्ने भएको छ । आरक्षणले समेत आरक्षण क्षेत्रभित्रबाट संरचना बनाउन नदिने अडान अगाडि सारेपछि पुल निर्माणको काम थप अन्यौलमा परेको छ । आयोजनाले यसका लागि दुईवटा विकल्पहरु अगाडि सारेको छ । लौकहीबाट कोशी टप्पु सम्मको पश्चिम गेट राजाबास हुँदै सप्तरीको कञ्चनपुर पु¥याउने वा इटहरीको कान्छी चौक भएर राजावास पु¥याउने भन्नेमा निर्णय हुन सकेको छैन ।
कोशी नदीमा तीन किमी लामो पुल

राजावास कोशी नदीमा तीन किमी लामो पुलको निर्माणको डिजाइन दुई बर्ष अगाडि नै भए पनि सडक निर्माणको अन्यौलताले कार्यान्वयमा आउन सकेको छैन । हाल निर्माण भइरहेको ९५.७६ किमी सडकलाई काँकडभिट्टा देखि सीतापुरी सम्मको ४५ किमी सडकलाई पूर्वी खण्ड र सीतापुरीदेखि इटहरी लविपुरसम्मको ५०.७६ किमी सडकलाई दोस्रो वा पश्चिम खण्डको रुपमा विभाजन गरेर हाल काम भइरहेको छ । यी दुई खण्डलाई पनि पाँच खण्डमा विभाजन गरिएको छ । पहिलो प्याकेज अन्तर्गत काँकडभिट्टादेखि सीतापुरी–केरखा सम्मको ४५ किमी पूर्वी खण्ड र सो प्याकेज अन्तर्गत केरखादेखि गोठगाउँसम्मको ४० किमी सडक खण्ड र तेस्रो प्याकेज अन्तर्गत गोठगाउँदेखि इटहरीको लविपुरसम्मको १०.७६ किमी सडक रहेको छ । यसैगरि चौथो र पाँचौ प्याकेजमा तीन सय मिटर लामा ६ वटा पुलहरु रहेका छन् । पहिलो प्याकेज अन्तर्गत काँकडभिट्टादेखि केरखासम्मको ४५ किमीमा १० अर्ब ६ करोडको ठेक्का सम्झौता भएको छ । जसको निर्माण नेपालको कालिका कस्ट्रक्सन र युरो एसियन कस्ट्रक्सन कर्पोेरेशन EVRASCON ले संयुक्त रुपमा ठेक्का पाएका छन् । दोस्रो प्योजक अन्तर्गत सीतापुरीदेखि मोरङ्गको गोठगाउँसम्मको ४० किमी सडक स–साना पुलसहित तुन्दी जेभि र चाइनाको रेल्वे फस्ट ग्रुप कम्पनी लिमिटेडेले ९ अर्ब १३ करोडमा संयुक्त रुपमा काम गरिरहेका छन् । तेस्रो प्याकेज अन्तर्गत गोठगाउँदेखि इटहरीको लविपुरसम्मको सडकमा तुन्दी जेभी र चाइनाको ओभरसिज इन्जिनियरिङ्ग गु्रप कम्पनी लिमिटे्ड, चाइना रेल्वे नं. २ इन्जिनियरिङ्ग ग्रुप कम्पनी लिमिटेडले ४ अर्ब ७ कराडोको ठेक्का पाएर काम गरिरहेका छन् । चौथो प्याकेजमा टुण्डी, चाइना कम्पनीले ३ सय मिटर लामा निन्दा, विरिङ्ग, लोहन्द्रा, कन्काई लगायतका खोलाको पुल निर्माण गरिरहेका छन् । ५ अर्ब ९७ करोडको लागतमा यी पुलहरु निर्माण भइरहेका छन् । सोही कम्पनीले पाँचौ प्याकेजको काम पनि ठेक्का पाएका छन् । जस अन्तर्गत ६ अर्ब ६५ करोडमा रतुवा लगायतका पुलहरु निर्माण भइरहेका छन् । यो सडक खण्डमा अन्य ५२ वटा पुल, २८९ वटा कल्भर्ट र १० वटा सवारी गुड्ने ओभरपास एकै साथ निर्माण भइरहेका छन् । चारआली, चारपाने, विर्तामोडमा एक–एक वटा ओभरपुल निर्माणको काम भइरहेको छ । अर्कोतर्फ सहरको जनघनत्व एवम् व्यस्थता हेरेर दमक र इटहरीमा तीन–तीन वटा ओभर पासको काम समेतलाई अगाडि बढाइएको छ । जसमा सुनसरीको जुट विकास चौक, इटहरीको कोशी राजमार्गसँग जोडिएको मुख्य चौक र कलंकी चाँैकमा तीनवटा ओभरपास निर्माणका कामलाई अगाडि बढाइएको छ ।
स–साना क्रंसिङ वेभ

सडक निर्माणसँगै पैदल यात्रीहरुको आवागमनलाई ध्यानमा राखेर स–साना क्रसिङ्ग वेभ समेत राखिने भएको छ । जस अन्तर्गत दमकको पशु हाटचौक, दमककै भाटभटेनी चौक अगाडि तीन वटा ओभर पास निर्माणको काम अगाडि बढाइएको छ । यता मोरङ्गको बाँसबारीमा क्रसिङ्ग हाइवेको अवधारणा अन्तर्गत माथिबाट र माइनर रोड तलबाट हुने गरी सडकको डिजाइन गरिएको छ । १ सय किमी प्रतिघण्टा स्पिडका लागि निर्माण भइरहेको हाइवेले नेपाललाई दक्षिण एसियाली मुलुकका प्रमुख शहरहरुसँग जोड्ने लक्ष्य राखिएको छ । जुन सडकले म्यानमार, थाइल्याण्ड, बंगलादेश, भारत, पाकिस्तान र इरानलाई जोड्नेछ । सोही अनुसार सन् २०२९ को डिसेक्बर सम्मका लागि सन् २०२३ जुलाई ७ मा एडिवीसँग नेपालले ऋण सम्झौता गरेको हो ।
कस्तो बन्दैछ सडक ?

झापा, मोरङ सुनसरीमा हाल सञ्चालित आयोजनाको ५७ किमी सडक ४ लेनको सहित २४ मिटरको चौडाइमा हुनेछ । यसको अलावा इटहरी, उर्लाबारी, दमक, विर्तामोड लगायतका सहरहरुका दायाँ–बायाँ ६.५ मिटरको फुटपाथ हुने र २८.४ किमी क्षेत्रमा सडक स्तरोन्नति सहित दुवैतर्फ फुटपाथ अनिवार्य गरिएको छ । यसैगरी पैदल यात्रुको लागि १८ वटा अण्डरपास र १२ वटा पशु क्रसिङ्ग सहितको सडक निर्माण हुने आयोजनाको कार्यालयले जनाएको छ ।
काँकडभिट्टा–लविपुर सडक खण्डको पूर्वी सडकका सूचना अधिकारी आशिष देवका अनुसार कार्तिक १५ गतेसम्मको समग्र भौतिक प्रगति २५ प्रतिशत रहेको बताउनुभयो । जस अनुसार प्याकेज नं. १ मा २६.६९ प्रतिशत भौतिक प्रगति र २४.७० प्रतिशत वित्तीय प्रगति भएको छ । यसैगरि पूर्वी खण्डको लामा पुलुहरुको प्याकेज नं. ४ को भौतिक प्रगति २०.८ प्रतिशत र वित्तीय प्रगति १९.७४ प्रतिशत रहेको छ । पूर्वी खण्ड अन्तर्गत ४५ किमी सडकमा हाल निर्माण कार्य तीब्र गतिमा भइरहेको छ । यस खण्डमा हाल विभिन्न स्थानमा कालोपत्रेको काम समेत एक साथ अगाडि बढेको पूर्वी खण्ड प्रमुख सुनिलबाबु पन्तले जानकारी दिनुभयो । साथै सर्व वे राख्ने, कल्भर्ट बनाउने, वाल लगाउने, माटो पुर्ने, पुल निर्माणको काम समेत भइरहेको छ ।
के हुँदैछ पश्चिमी खण्डमा ?

सडक निर्माणको काम पूर्वी खण्डमा जस्तै पश्चिमी खण्डमा पनि धमाधम भइरहेको छ । यो सडक खण्डमा हाल कानेपोखरीदेखि लक्ष्मी मार्गसम्मको ४ किमी सडक कालोपत्रे भइसकेको छ भने अन्य स्थानमा पनि कालोपत्रेको तयारी पूरा भएको छ । यो सडक खण्ड अन्तर्गत २४ किमीमा सव वे राखिएको छ र ७ किमीमा ड्रेन निर्माण भइसकेको छ । पश्चिमी सडक खण्डका सूचना अधिकृत वल्लव श्रेष्ठका अनुसार पश्चिमी खण्डमा हाल तीन प्याकेजमा काम भइरहेको छ । जस अनुसार सीतापुरीदेखि गोठगाउँ सम्मको प्योजक नं. २ को २७.६४ किमी, गोठगाउँदेखि इटहरीसम्मको प्याकेज नं. ३ को १३.०८ र ३ सय मिटर लामा पुलको प्याकेज नं. ५ मा २६.०५ प्रतिशत भौतिक प्रगति भएको छ । पश्चिमी खण्डको आयोजना प्रमुख जगतप्रसाद प्रजापतिका अनुसार सो खण्डको विभिन्न स्थानमा हाल पर्खाल लगाउने, माटो भर्ने, कल्भर्ट निर्माण गर्ने कामहरु समेत एकैसाथ अगाडि बढेको छ । यसैगरि ५ वटा छोटा पुलको निर्माण र २० वटा पुलहरुको फाउण्डेशन निर्माण र ७६ वटा कल्भर्ट निर्माण भइरहेका छन् । यो सडक खण्डमा ३५ वटा कल्भर्टहरु निर्माणाधीन रहेको पनि उहाँले जानकारी दिनुभयो । झापाको सीतापुरीदेखि पाँडाजुँगी सम्मको भागमा हाल कालोपत्रेको काम भइरहेको छ । यस खण्डको रतुवा, बक्राहा, लोहन्द्रा लगायतका तीनसय मिटर लामा पुलको निर्माण कार्य समेत भइरहेको छ । हाल निर्माण भइरहेको ती पुलहरुको मायलको काम सिद्धिएको र पिल्लरहरु उठाउने, Ïयाक्ट्रीमा स्टिल स्ट्रचरको काम समेत भइरहेको छ । हाल तीनवटै पुलको भौतिक प्रगति २६.५ प्रतिशत रहेको समेत उहाँले जानकारी दिनुभयो ।
पश्चिमी खण्डमा ७ वटा ओभर पास

निर्माणाधीन सडकको पश्चिमी खण्डमा सात वटा ओभर पास निर्माण हुनेमा झापाको दमकमा तीनवटा मध्ये दुई वटाको काम भइरहेको छ । यता मोरङ्गको बलिया, सुनसरीको इटहरी लगायतका स्थानमा पनि ओभर पास निर्माण हुँदैछ । इटहरीमा भने ओभर पासको सट्टामा बायोभर बनाउन स्थानीयले माग गरेका छन् । आयोजना प्रमुख प्रजापति भन्नुहुन्छ ओभर पासको तुलनामा बायोभर ६ गुणा महंगो पर्ने हुन्छ । यो बनाउन सम्भव छैन । पहिलाकै डिजाइन अनुसार ओभर पास नै निर्माण गर्नुपर्ने हुन्छ । यसैगरि पश्चिम खण्डमा ६ वटा एनिमल क्रसिङ्ग र दुई वटा मन्की क्यानोन वेश निर्माण हुने भएको छ । पूर्व पश्चिम यो राजमार्गको ठेक्का अवधि अब अठार महिना अर्थात डेड बर्ष बाँकी रहेको छ । अब डेड बर्षमा ७५ प्रतिशत काम पूरा गर्नुपर्न देखिन्छ । तर आयोजनाले दुवै खण्डमा काम तोकिएकै समयमा सम्पन्न गर्ने प्रष्ट पारेको छ । शुरुवाती चरणमा काम सुस्त देखिए पनि कालोपत्रेको चरणमा पुगेपछि कामले तिब्रता लिने आयोजनाको विश्वास छ । यो सडक आगामी २०८३ माघ १९ गते सम्म सम्पन्न गर्नुपर्ने हुन्छ ।
