दर्जनौ सन्तान जन्माएकी मेरी आमा
आफ्ना पिण्डदातालाई
पापको रापले भेट्ला भनेर
हरविहान जप्थ्यौ मन्त्री औंला गनेर
घण्टी बजाउँथ्यौ तेतीसकोटी देवता पुकार्दै
बालेका जोरखा बत्तीका तापले
भगवानको मन पग्लििएर होला शायद
म जन्मनै पाइन ।………


माथि उल्लेखित कविताका हरफहरु ११७ औं लक्ष्मी जयन्तिका अवसरमा लक्ष्मी सडकका कवितामा संग्रहित गोरखा सिराञ्चोककी झरना विन्दु सरुले लेख्नु भएको मार्मिम कविता नजन्माएकी छोरी म को पहिलो अनुच्छेद हो ।वर्तमान समयमा गर्भमा छोरी भएको थाहा पाउनासाथ छोराको अभिलाषा बोकेर गर्भपतन गराउने प्रवृत्तिलाई कवियित्रीले कटाक्षे गर्नुभएको छ । प्रत्येक बर्ष लक्ष्मी जयन्तिका अवसरमा धरानस्थित लक्ष्मी वाचानालयले कविहरुका कविता संकलन गरी लक्ष्मी सडकका कविता प्रकाशन गर्दै आएको छ । यद्यपि लक्ष्मी जयन्तिका अवसरमा विमोचित संग्रहमा ७० वटा कविता संग्रहित छन् । तर झरना विन्दुको कविताले कार्यक्रममा सहभागी सबैको मन र मस्तिष्कलाई चसक्क छोएको थियो । संगहमा कविताका अलावा ८ वटा समीक्षात्मक लेखहरु समेत समेटिएका छन् । लक्ष्मी सडकका कविताको सामालोचना गर्दे पिण्डेश्वर विद्यापीठका पूर्व प्राचार्यले समेत झरना विन्दु शुरुकै कविताका अंशहरु कोट्याउनु भएको थियो । उहाँले अन्य कविताहरु समेत अत्यन्तै राम्रा, अध्ययन गर्दा स्वाद आउने खालका रहेको, पद्य र गद्यका कविता भएपनि गजल अत्यन्तै न्यून रहेको, लोकलयका कविता कम रहेको बताउनु भएको थियो । लोकलयका कविता संकलनमा सम्पादकहरुले कम मेहनत गरेको भन्दै लोक कवितामा लेखिएको देवकोटाको मुनामदनका प्रसंग उल्लेख गर्नुभएको थियो । डा. गोविन्द सुब्बाको प्रमुख आतिथ्यमा रेडक्रस भवनको सभाहलमा भएको उक्त कार्यक्रममा कवि तथा कवियत्रीहरुले आफ्ना रचना पाठ गर्नुभएको थियो भने स्रष्टाहरुलाई सम्मान र देवकोटाका बारेमा प्रा.डा. टंक न्यौपाने, प्रा.डा. गोपाल भण्डारी लगायतले आफ्ना धारणा राख्नु भएको थियो । लक्ष्मी वाचनालयका अध्यक्ष टेकबहादुर ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रम सञ्चालन सचिव सोमनाथ रेग्मीले गर्नुभएको थियो ।

