धरान । धरान उपमहानगरपालिका शिक्षा, स्वास्थ्य र टोलटोलमा कालोपत्रे सडकका लागि देशभर चिनिन्छ । तर, यही उपमहानगरपालिकाको वडा नम्बर ४, शिवजट्टामा भने आज पनि बालबालिकाले विद्यालय जान घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता छ । धरान १३ को बेसक्याम्पबाट ९ किलोमिटर उत्तरमा पर्ने शिवजट्टामा सवारीसाधन पुग्दैनन् । जीर्ण र साघुरो कच्ची सडकका कारण मोटरसाइकल वा टेम्पो पनि कहिलेकाहीँ मात्र गुड्छन् । यो वडामा एउटा पनि विद्यालय छैन । यहाँका बालबालिकाले धरान १३ फुस्रेमा रहेको पब्लिक माविसम्म दुई घण्टा पैदल हिँडेर पुग्नुपर्ने बाध्यता छ । धरान १३ को पब्लिक माविमा अध्यन गर्न आएका विद्यार्थीहरुले विद्यालय समयमै पुग्न बिहानै घरबाट निस्कनुपर्ने र दुई घण्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेको बताएका छन् । हिउँदमा जसोतसो खोला तरेर विद्यालय पुग्ने बालबालिका, वर्षामा भने खोलामा आएको बाढीले पढ्न जानै मुस्किल हुन्छ ।

यता अभिभावहरु भने नानीहरू स्कुल गएपछि कतिखेर फर्किन्छन् भन्ने चिन्ता पिरोलिरहेको हुन्छ । गाउँमा विद्यालय नभएकै कारण डराई डराईे विद्यालय पठाउनुपर्ने बाध्यता रहेको अभिभावक पवित्रा राई बताउनुहुन्छ । करिब २५ घरधुरी भएको शिवजट्टाका ८० देखि ९० बालबालिका यस्तै कष्ट भोग्दै पढ्न जान्छन् । धरानजस्तो सुगम उपमहानगरपालिकाभित्रै यति कठिन यात्रा गरेर विद्यालय जानुपर्ने बाध्यता विडम्बना भन्दा कम छैन । धरानका चिल्ला सडक र आधुनिक सुविधाबीचै अझै पनि यस्ता वडा छन्, जहाँ बालबालिकाले पढ्नका लागि दैनिक संघर्ष गर्नुपर्छ । शिक्षा बालबालिकाको लागि नसिैर्गिक अधिकार भनिए पनि, शिवजट्टाका बालबालिकाको अधिकार अझै पनि अधुरै देखिन्छ ।
त्र
