व्यक्तिगत चाहनाभन्दा कर्तव्यलाई प्राथमिकता दिने चिकित्सक डा. अरुण सिंह

नेपालमा कर्तव्यलाई जीवनको आधार मानेर बिरामी सेवामा समर्पित हुने चिकित्सकहरूको कमी छैन। तर त्यसमध्ये पनि केही व्यक्तित्व विशेष खडा हुन्छन्। बि।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत बालबालिका तथा किशोर स्वास्थ्य विभागका सह–प्राध्यापक डा। अरुण कुमार सिंह त्यस्तै चिकित्सक हुन्, जसले व्यक्तिगत जीवनभन्दा पनि बिरामीको हितलाई नै आफ्नो जीवनको ध्येय बनाएका छन्।

धनुषा जिल्ला जनकपुर–हंसपुर कठपुल्ला गाउँमा जन्मिएका डा। सिंह प्रारम्भिक जीवनदेखि नै अध्ययनशील, परिश्रमी र समाजप्रति उत्तरदायी विद्यार्थीका रूपमा चिनिन्थे। जन्मभूमि जनकपुर भए पनि उनले आफ्नो सेवाथलो धरान रोजेका छन्। उनका अनुसार, “जनकपुर मेरो आत्माको शहर हो। तर अहिले मेरो काम बालबालिकाको उपचार र विद्यार्थीलाई मार्गदर्शन गर्नु हो, त्यसैले म धरानमै छु।” उनको शैक्षिक यात्रा नेपालमै सीमित भएन। पाकिस्तानको लाहोरस्थित प्रतिष्ठित विश्वविद्यालयबाट उनले एमबीबीएस र बालस्वास्थ्यमा विशेषज्ञता हासिल गरे। त्यसपछि जापानमा एन्डोक्राइनोलोजीमा फेलोसिप गरे भने हंगेरी र अमेरिकामा समेत थप तालिम तथा अनुसन्धानमा संलग्न रहे। अन्तर्राष्ट्रिय स्तरमा सिकेको ज्ञानलाई उनले नेपालमै प्रयोग गर्दै आएका छन्। धरानमा बस्दै डा। सिंहले आफ्नो समय तीन क्षेत्रमा खर्च गर्छन्—बालबालिकाको उपचार, मेडिकल विद्यार्थीलाई अध्यापन र अनुसन्धानमा संलग्नता। विशेषगरी मधुमेह र हर्मोन सम्बन्धी समस्या भएका बालबालिकामा उनले उल्लेखनीय योगदान गरेका छन्। उनले स्वास्थ्य सेवा केवल औषधि दिने मात्र नभई परिवारलाई सचेत पार्ने र समाजलाई शिक्षित बनाउनुपर्ने कुरामा जोड दिने गरेका छन्।

धेरैले उनलाई किन जनकपुरमा गएर सेवा नगरेको प्रश्न सोध्ने गर्छन्। तर उनको जवाफ सरल र गहिरो हुन्छ—“म जहाँ बसेर काम गर्छु, त्यही सेवा जनकपुरकै लागि पनि हो। धरानमा मेरो कर्तव्य अधूरो छ, पूरा भएपछि जनकपुर फर्किन सक्छु।” उनले नेपालमै बाल मधुमेह तथा एन्डोक्राइनोलोजी उपचार केन्द्रलाई सबल बनाउने, ग्रामीण क्षेत्रमा बाल स्वास्थ्य शिक्षा र पोषण सचेतना विस्तार गर्ने तथा नेपाली मेडिकल विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको तालिम दिने वातावरण बनाउन योगदान गर्ने लक्ष्य राखेका छन्। जनकपुरमा जन्मिएर धरानमा सेवा दिँदै आएका डा। अरुण कुमार सिंह व्यक्तिगत चाहनाभन्दा कर्तव्यलाई प्राथमिकता दिने उदाहरणीय चिकित्सकका रूपमा चिनिएका छन्। उनको सेवा र निष्ठाले हजारौं बालबालिकाको जीवनमा नयाँ आशा जगाइरहेको छ।

तपाईको प्रतिक्रिया