धरान । देशैभर आज दसैंको सातौं दिन विभिन्न शक्तिपीठमा फूलपाती भित्र्यायो । धरान–१४ विजयपुरस्थित दन्तकाली शक्तिपीठमा पनि विशेष विधिपूर्वक फूलपाती भित्र्याएको छ । फूलपाती भित्र्याएसँगै घर–घरमा दशैं भित्रिएको मानिन्छ । नौ पत्र – अशोक, दारिम, धान्य, बेल, केचु, माने, हरिद्रार (बेसार), जयन्ति र कोलालाई विधिवत पूजाआजा गरी मन्दिरमा भित्र्याएपछि दशैंको औपचारिक शुरुवात हुने धार्मिक मान्यता छ । दन्तकालीमा भएको फूलपाती भित्र्याउने कार्यक्रममा नेपाली सेनाको बेण्डबाजा, सलामी, सशस्त्र प्रहरी, जनपथ प्रहरी र नगर प्रहरीको विशेष सहभागिता थियो । सेनाले दन्तकाली शक्तिपीठबाट बुढासुब्बा पुगेपछि सलामी अर्पण गरी पिण्डेश्वर मन्दिरमा रहेको फूलपातीलाई पूजाआजा गरेर दन्तकालीमा ल्याइएको थियो । यो चलन २०७४ सालको स्थानीय निर्वाचनमार्फत सेनासँग समन्वय गरेर प्रचलनमा ल्याइएको धरान उपमहानगरपालिका १४ न. वडा कार्यालयका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताउनुभयो ।


यस अवसरमा विभिन्न संघ–संस्था, सनातन धर्मावलम्बी र मन्दिरका पूजारीहरुको उल्लेख्य सहभागिता रहेको थियो । परम्पराअनुसार विहानै दन्तकालीका पूजारीहरु नुहाएर नौ पत्र खोज्न जाने चलन रहिआएको छ । सो नौ पत्रलाई डोलीमा बोकेर ल्याइने र भित्र्याउने क्रममा फूलपाती वा बोकेका पूजारीलाई कसैले छुन नहुने मान्यता रहिआएको छ । फूलपाती भित्र्याउने कार्यक्रमको सम्पूर्ण व्यवस्थापन दन्तकाली मन्दिर व्यवस्थापन समिति र धरान उपमहानगरपालिका–१४ वडा कार्यालयले संयुक्त रुपमा गरेको थियो । नौरथाका अन्य दिनमा तुलनात्मक रुपमा चहलपहल कम भए पनि फूलपाती भित्र्यार्उउने दिन भने मन्दिर परिसरमा श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको देखियो ।



