धरान । जेनजी आन्दोलन र लगातारको वर्षाका बाबजुद पनि नेपालीहरु दशैंको तयारीमा जुटिरहेका छन् । विशेषगरी मासुका परिकारको महत्व हुने भएकाले धरानस्थित कृषि बजारमा खसी–बोका खरिद–विक्रीमा चहलपहल बढेको छ । धरान–१३ स्थित कृषि बजारमा गत शुक्रबार भन्दा यो शुक्रबार ठूलो संख्यामा खसी बोका व्यापारी तथा कृषकले ल्याएका छन् । खसी बोका विक्री गरेर दशैं टार्ने कृषक र व्यापारीको ध्याउन्न छ भने उपभोक्ताले समेत सर्वसुलभ ढंगले खरिद गरी दशैं मनाउने तयारी गरेका छन् । कृषक तथा व्यापारीहरु भन्छन् ‘वर्षा र आन्दोलनकै कारण बजार सुस्त थियो, अहिले भने चहलपहल बढेको छ ।’

हाल कृषि बजारमा खसी बोका जिउँदो प्रतिकेजी ५ सयदेखि ६ सय रुपैयाँसम्ममा कारोबार भइरहेको छ । पूर्वी पहाडी जिल्ला धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्ला तथा तराईबाट समेत व्यापारीहरुले खसी बोका ल्याएका छन् । वडाध्यक्ष नेत्रप्रसाद काफ्लेका अनुसार बजार अझ सक्रिय बनाउन हप्तामा एक पटक लाग्ने पशु बजारलाई दुई–तीन पटकसम्म चलाउने तयारी भइरहेको छ । उहाँले भन्नुभयो–‘ यसपालि कारोबार केही घटे पनि बजारलाई सक्रिय बनाउन स्थानीय सरकार तयार छ ।’ कृषि बजार व्यवस्थापन समितिका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार गत वर्ष अन्तिम शुक्रबार मात्रै १० करोड रुपैयाँभन्दा बढी मूल्य बराबरका ५ हजार खसी बोका विक्री भए पनि यसपटक करिब ९ करोड रुपैयाँ बराबरका ४ हजार ५ सय खसी बोका मात्र विक्री हुने अनुमान गरिएको छ । जेनजी आन्दोलन र लगातारको वर्षाका कारण केही कमी आए पनि बजारमा देखिएको चहलपहलले दशैंको उत्साह भने नेपालीमा घटेको छैन भन्ने स्पष्ट भएको व्यवस्थापन समितिको भनाइ छ ।
