धरान । एकातिर देशभरि जनआन्दोलनको राप थियो, अर्कोतर्फ रक्तदानको अपिल । भदौ २४ गतेको दिउँसो, जब जेनजीकोे आन्दोलन चरम थियो, त्यही बेला ग्रिनसिटी हस्पिटलका अध्यक्ष लोकबहादुर टण्डन जनसेवामा खटिएका थिए — रक्तदान कार्यक्रमको व्यवस्थापन गर्दै तर, यही दिन उनको जीवनमा कहिल्यै नबिर्सिने क्षण आयो — आन्दोलनकारीको हातबाट उनी कुटपिटमा परे । भदौ २३ गतेको घटनाले सबैलाई स्तब्ध बनाएको थियो । जेनजी आन्दोलनमा २३ जनाको ज्यान गएको र धेरै घाइते भएका खबरसँगै टण्डनले अर्को दिन बिहानै रक्तदान कार्यक्रमको आयोजना गरे । ‘रगतको अत्यन्तै अभाव थियो, मलाई तुरुन्त खबर आयो’ टण्डन सम्झिन्छन् । २३ को रातभर तयारीपछि, २४ गते बिहान ८ बजेबाट ग्रिनसिटी अस्पतालमा रक्तदान सुरु भयो । दिउँसो १ः३० बजेसम्ममा करिब २ सय ५० पिन्ट रगत संकलन भइसकेको थियो । तर, यही बेला अर्को खबर आयो — गोंगबुमा एक आन्दोलनकारीको हातमा गोली लागेको थियो । ‘यदि तुरुन्त अप्रेशन नगरे हात काट्नुपर्ने अवस्था थियो,’ उनी भन्छन् । डाक्टरको सल्लाहमा उनलाई मनमोहन अस्पताल पु¥याउनु पर्नेभयो । टण्डनले आफै एम्बुलेन्स लिएर घाइतेलाई लिएर निस्किए । मनमोहनमा घाइतेलाई छोडेर फर्किंदै गर्दा, टण्डन चक्रपथ हुँदै आउँदै थिए । उनी अस्पतालको एम्बुलेन्समै थिए, सेतो कोट र कालो टोपीमा । ‘त्यही बेला एम्बुलेन्समाथि तोडफोड भयो, मलाई नेता आयो भन्दै आक्रमण गरियो,’ उनी भावुक हुँदै भन्छन् । कुटपिट यति भयावह थियो कि उनी भाग्यले बाचेका थिए । ‘यदि त्यो पिटाई सबै शरीरमा प¥यो भए, म आज जीवित हुन्न थिएँ,’ उनी भन्छन् । स्थानीय युवाहरुले उनलाई घरभित्र लगेर कपडा फेरेर सुरक्षित निकालेका थिए ।

आफ्नै मोटरसाइकलमार्फत टण्डन ग्रिनसिटी फर्किए । तर फर्किंदा उनी पहिचान नहुने अवस्थामा थिए । ‘गएको बेला सुटेट बुटेट थिएँ, फर्किंदा अनुहार सुन्निएको थियो, कोही चिन्ने अवस्था थिएन, उनी सम्झन्छन् । शरीरमा चोट छ, तर मनोबल अझ बलियो भएको देखिन्छ टण्डनको। अहिले उनी पुनः समाजसेवामा सक्रिय छन् । ‘मानवीय सेवा भन्दा ठूलो धर्म अरु हुँदैन,’ टण्डनको विश्वास छ । ११ वर्षको उमेरदेखि सामाजिक सेवामा लागेका उनी अहिले भत्किएका प्रहरी चौकी पुनर्निर्माणको अभियानमा जुटेका छन् । फण्ड संकलन गरेर पुनःनिर्माणमा लागेका टण्डन अरुलाई पनि समावेश हुन आह्वान गर्दैछन् ।
