फिदिम । मेची राजमार्गको फिदिम खण्ड अन्तर्गत हेवा खोलामा जडान गरिएको मोडुलर बेलिबृजको आज भाद्र ४ गते उद्घाटन हुने भएको छ ।
नेपालमै पहिलो पटक पिल्लर बिनाको ७० मिटर लामो मोडुलर बेलिबृजको जडान कार्य साउन २८ गते सम्पन्न भएको थियो । सडक डिभिजन कार्यालय इलामको सुपरभिजनमा भारतबाट आएका प्राविधिक टोलीले यति लामो पुल जडान कार्य ११ दिनमा पूरा गरेका थिए । जे्ठ ३१ गते हेवा खोलामा आएको बाढीले फिदिम नगरपालिका र हिलिहाङ्ग गाउँपालिका जोड्ने बेलिबृज पूर्ण रुपमा बगाइदिएको थियो । भारत सरकारले उपलब्ध गराएको उक्त मोडुलर बेलिबृजको जडान कार्य साउन १७ गतेदेखि शुरु भएको थियो । यस भन्दा अगाडि पनि सो स्थानको पुल बाढीले पूर्ण रुपमा नष्ट गर्दा पुलको काम गर्ने तीन जना मजदुरको मृत्यु भएको थियो । हेवा खोलाको पुल झापा, इलाम, पाँचथर र ताप्लेजुङ्ग जिल्लाको लाइफ लाइन हो । मेची करिडोरको यो पुल तरेर ताप्लेजुङ्ग जिल्लाको फुङ्गलिङ्ग भएर ओलाङ्गचुङ्गगोला र टिप्तला भन्ज्याङ्ग सम्म पुग्दछ । गत बर्ष समेत हेवा खोलाले सोही ठाउँमा भएको कंक्रिटको मोटरेवल पुल बाढीले बगाएको थियो । सडक डिभिजन कार्यालय इलामले डाइभर्सन बनाएर यातायातका साधानहरु आवातजावतमा केही सहज बनाए तापनि जेठमा आएको बाढीले डाइभर्सन समेत बगाएको थियो ।


सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले दिनु भएको जानकारी अनुसार पुल जडानका लागि यस पटक भारतीय प्राविधिकहरु नै आएका थए । भारतबाट आएका २१ जना प्राविधिकले मेहनताका साथ काम गरेका थिए । उहाँले भन्नुभयो अहिले पुलको जडान कार्य पूरा भएको छ । अव लोड टेष्ट गर्ने र नट टाइटको काम पनि तिब्र रुपमा भइरहेको छ । पुलको कामसँगै एप्रोज रोड निर्माण र ढलानको काम हुँदैछ । त्यसपछिमात्र निर्माण भएको पुलबाट यातायातका सवारी साधनलाई सञ्चालनको अनुमति दिइनेछ ।

