प्रदेश स्तरीय बास्केटबल प्रतियोगिता धरानमा हुने

धरान । मोफसलमै सबैभन्दा बढी बास्केट बल प्रतियोगिता हुने धरानमा कोशी प्रदेशस्तरीय बास्केट बल प्रतियोगिताको आयोजना हुने भएको छ । बास्केट बलकै उर्वरभूमि
धरानलाई परिचित गराउदै राष्ट्रिय खेलाडी उत्पादनमा जोड दिनका लागि आगामी असार ५ गतदेखि ८ गतेसम्म प्रतियोगिताको आयोजना हुन लागेको हो । बास्केटबल खेलको विकास र युवा प्रतिभा उजागर गर्न धरान बास्केटबल संघले कोशी प्रदेश स्तरीय ओपन बास्केटबल प्रतियोगिता २०८२ को आयोजना गर्न लागिएको सुनसरी बास्केट बल संघका अध्यक्ष नारायण सुवेदीले जानकारी गराउनुभयो । उहाँका अनुसार प्रतियोगिता धरानको डिपो आदर्श बहुमुखी क्याम्पसको कोर्टमा सञ्चालन हुने भएका हो ।

पछिल्लो समय हरेक विद्यालय तथा कलेजहरुमा समेत बास्केटबल प्रशिक्षणसँगै विद्यार्थीहरुबीच निरन्तर प्रतिष्पर्धा गराइदै आएकोप्रति धरान उपमहानगरपालिका १० नं. वडा कार्यालयका वडाध्यक्ष विवेक राईले बास्केट बल खेलको प्रवद्र्धनमा यस्ता प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । प्रतियो्गितामा कोशी प्रदेशको सुनसरी, झापा, मोरङ, धनकुटा, इलाम, ओखलढुङ्गा, उदयपुर र भोजपुरका गरी ८ जिल्लाका टिमहरुले प्रतिष्पर्धा गर्नेछन् । आयोजकका अनुसार प्रतियोगिता विजेता हुने टिमलाई नगद २ लाख, उपविजेतालाई. १ लाख सहित प्रमाणपत्र ट्रफी वितरण गरिने प्रतियोगिताका संयोजक एवम् बास्केट बलका प्रशिक्षक विकास चाम्लिङ राईले जानकारी दिनुभयो । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई १० हजार नगद पुरस्कार सहित ट्रफी र मेडल प्रदान गरिने भएको छ । नेपालमै पहिलो पटक धरानबाट बास्केट बल खेलको शुरुवात भएको मानिन्छ । धरानमा ब्रिटसहरुले घोपा क्याम्प स्थापना गरेपछि यो खेल धरानमा भित्रिएको आयोजकको दाबी छ । यस अघि पनि धरानमा विभिन्न स्तरका बास्केट बल प्रतियोेगिताको आयोजना हुदै आएको छ । यसअघि सगरमाथा राष्ट्रिय लिग समेत सफलतापूर्वक सम्पन्न भएको थियो । धरानबाट उत्पादन भएका खेलाडीहरुले राष्ट्रिय स्तरमै प्रतिनिधित्व गर्दै प्रतिष्ठित प्रतियोगिता दक्षिण एशियाली खेलकुद प्रतियोगितामा धरानका खेलाडीले पदक जिताएका थिए ।

तपाईको प्रतिक्रिया