धनकुटा । धनकुटामा लामो समयदेखि खैरो हिरोइन (ब्राउन सुगर) को कारोबार गर्दै आएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुटाका प्रहरी प्रमुख एसपी सनतकुमार थापाका अनुसार गोप्य सूचनाका आधारमा लामो समयदेखि खैरो हिरोइनको कारोबार गदै आएका चार जनालाई सोमबार विहान पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा चौवीसे गाउँपालिका वडा नं. ६ राजारानीका २२ बर्षीय पुजन लिम्बु, सोही स्थानका शेषेहाङ्ग चेम्जोङ्ग, जेक्सिन लिम्बु र दिनेश लिम्बु रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय राजरानीका प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा गएको प्रहरी टोलीले पक्राउ गरेको थियो । एसपी थापाका अनुसार पक्राउ परेकाहरु सुतेको कोठामा प्रहरीले प्लाष्टिक्समा प्याक गरेर टेबलमा राखिएको अवस्थामा ३ ग्राम ९ सय मिलिग्राममा हेरोइन फेला परेको थियो । यसका अलावा पक्राउ परेकाहरुको साथबाट ४१ हजार ५ सय रुपैयाँ नगद समेत बरामद भएको छ । प्रहरीले उनीहरुका विरुद्ध लागू औषध ऐन अन्तर्गत मुद्धा चलाउने तयारी गरेको छ । हाल उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनकुटाको कष्टडीमा राखिएको छ ।
