तराहरामा राष्ट्रव्यापी खुल्ला प्रतियोगितामा दश कवि विजेता

इटहरी । वि.सं. २०७४ सालमा स्थापना भएको जनसहयोग २०५० समूह तरहरा सुनसरीले वैसाखमा आयोजना गरेको राष्ट्रव्यापी कविता प्रतियोगितामा देशका विभिन्न स्थानका दश जना कविहरु विजेता भएका छन् । तरहरास्थित जनसहयोग माध्यामिक विद्यालय २०५० समूहले आयोजना गरेको प्रतियागिताका लागि ४ सय ६ वटा कविताहरु प्राप्त भएकोमा छनौट समितिले १० वटा उत्कृष्ट कविताहरु छनौट गरेको थियो ।

छनौट भएका १० उत्कृष्ट कविताका कविहरुलाई वाचनका लागि आमन्त्रण गरिएको र उनीहरुलाई विजेता घोषित गरिएको थियो । समूहका अध्यक्ष सन्तोष श्रेष्ठ र कार्यक्रम संयोजक मुक्तिप्रसाद घिमिरे रहनु भएको कविता प्रतियोगितामा मानिसलाई रुखको अन्तिम प्रश्न शीर्षकको कविता सप्तरीकी रोमा लम्साल नुरा, पृथ्वीको अन्तिम रुख रसुवाकी एलिसा एकलास, आश शीर्षकको कविता खोटाङका शुभचन्द्र राई, प्रकृतिको व्यायामशालामा आमा शीर्षकको कविता गोरखाका निशान निस्कर्म, अनि खतरा बन्छ अक्षर शीर्षकको कविता सन्धुपाल्चोकका सुन्दर शिरिषले वाचन गर्नुभएको थियो । यसैगरि इश्वरलाई अपिल शीर्षकको कविता सिन्धुपाल्चौककै डा. स्मिता श्रेष्ठ, ईश्वर भेटिएको वक्तव्य शीर्षकको कविता इलाममा सुभाष राई वाङदेल, झ्यालको सौन्दर्यशास्त्र शीर्षकको कविता सिराहाका अविनाश भट्टराई, संघर्ष र संकल्प शीर्षकको कविता दैलेखका दिपिन सिजापति र भगवानको म्याराथुन शीर्षकको कविता धनकुटाका अनिल सुवदीले वाचन गर्नुभएको थियो भने बाल प्रतिभामा अंकित पाण्डय विजयी हुनु भएको थियो । स्व. नारायणप्रसाद पौड्यालको स्मृतिमा समूहले हरेक बर्ष कविता प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया