जब कुनै पनि देशमा जात र धर्मको कारण नागरिकहरु विभाजित हुन्छन् त्यसबेला त्यो देशको अस्तित्व संकटमा पर्छ । यी दुवै कारणले या त देशको अस्तित्व समाप्त भएर जान्छ कि त सैयौ बर्षसम्म सुल्झिन नसक्ने गृहयुद्ध चर्कन्छ ।
नेपालमा यतिखेर यी दुवै कुराको डर प्रवल बन्दै गएको छ । देशको पहिचान मानिने सनातनी परम्परा, सास्कृति जस्ता
कुराहरुलाई कथित क्रान्तिकारीताको आडमा भस्मीभूत बनाउने कार्यमा अक्षम राजनैतिक पार्टीहरु लागेपछि नेपालमा भयावहको स्थिति देखा पर्न थालेको छ ।
विगतमा कहिल्यै पनि धर्म सम्प्रदायको तीतो बहस नेपालमा भएको थिएन । कथित संविधानसभाको निर्वाचनसागै अमेरिका लगायतका मुलुकबाट देशका नेताहरु डलरमा विक्री भए त्यसपछि माथिका दुई विवादित मुद्दा सतहमा आएका हुन् । आज धर्मकै कुरा गर्ने हो भने संससारमा पहिचान बनाएको एकमात्र
हिन्दुराष्ट्रको धज्जी उडाउने काम हुादैछ । संसारमा आफूलाई सबैभन्दा पुरानो प्रजातान्त्रिक देश भनिने बेलायत, अमेरिकामा समेत धर्म निरपेक्षता छैन, बेलायतकी महारानी संसारभरिका क्रिश्चियनहरुकी संरक्षिका हुन् । यस्तै मुसिल्म राष्ट्र अनगिन्ती छन्, यहुदी राष्ट्रहरु छन् । आखिरी नेपाल हिन्दु राष्ट्र हुादा र ८५ प्रतिशत हिन्दु धर्मालम्बीहरुको बाहुल्यता भएको देशलाई धर्म निरपेक्षता घोषणा गर्नुलाई राम्रो मान्न सकिदैन ।
नेपालमा भएको २०६२/०६३ को आन्दोलनमो मूल मर्म धर्म निरपेक्षता छादै थिएन । आन्दोलनको दौरान देशका कुनै पनि ठाउामा कसैले पनि धर्म निरपेक्षताको नारा लगाएका थिएनन् । कही कतैबाट आवाजै नउठेको कुरालाई संविधानमा राख्नु नेताहरुको कुनियत भन्दा अर्को हुन सक्दैन । वाह्य देशले नेताहरुबाट धर्म खरिद गर्नु लज्जाको विषय हो । धर्म, सास्कृति, पहिचान विक्री गर्ने अधिकार कथित नेताहरुलाई कसले दियो ? डलर, स्टर्लिङ्ग पाउण्ड, युरोमा बेच्ने नेताहरुले भोलि अरु पनि बेच्दैनन् भन्ने के ग्यारेन्टी ? आज देशभरि हिन्दु राष्ट्र अब बन्ने संविधनमा कायम होस् भनेर आन्दोलन हुन थालेका छन् । लाखौ, हजारौ मानिस सडकमा यिनै नारा लिएर आउन थालेका छन् । यो दिन प्रतिदिन चर्कन थालेको छ । यसैगरी सडकमा भीड बढ्दै जाने हो भने राजसंस्था हिजो जसरी विदा भयो त्यही स्थिति निम्तिन सक्छ । किन कि नेपालमा एउटा परम्परा बनिसकेको छ त्यो भीडको निर्णय ।
हिजो गणतन्त्र पनि भीडको कारणले नै आएको हो । आज राजनैतिक पार्टीहरुलाई समर्थन गर्नेहरुले आज पनि नेताहरुलाई नै समर्थन गर्छन् भन्ने केही छैन , सधै कोही पनि कसैको पछि लाग्दैनन् । जुन सोचका साथ नेपाली जनता हिजो सडकमा उत्रिएका थिए आज त्यो सोच परिवर्तन भइसकेको छ । अब बन्ने संविधानमा जनताको भावनामा ठेस पुग्ने हरेक वर्ग र तप्काका मानिसको सुरक्षा, शिक्षा, स्वास्थ्य, रोजगारी, व्यक्तिगत स्वतन्त्रतालाई सम्बोधन गर्नुपर्नेमा विदेशीका दलाल बनेका नेताहरुले जनभावना विपरीत पहिलो मस्यौदा तयार गरेर नाटक मञ्चन गर्न सभासदहरु जिल्ला पुगे । आफूलाई बरिष्ठ नेता हौ भन्ने जनताका नेता हौ भन्नेहरुले जनताबाटै कुटाइ खाए, लखेटिए, वेइज्जत सहे । आज पनि जन भावनाको कदर गर्न सकिदैन भने भविष्यमा द्वन्द्व बढाउने संविधान जारी गर्नुभन्दा नगरेकै बेस ।
