आजदेखि मकालु प्लाटिनम जुब्ली तथा दक्षिण एसियाली साहित्यिक साँस्कृतिक महोत्सव

खाँदबारी । संखुवासभा जिल्लास्थित नेपाल–चीन सीमा क्षेत्रमा रहेको संसारको पाँचौ ठूलो हिमाल मकालु आरोहरणको ७० बर्ष पुगेको अवसरमा आज फागुन १४ गतेदेखि मकालु प्लाटिनम जुब्ली तथा दक्षिण एसियाली साहित्यिक–साँस्कृतिक महोत्सवको आयोजना हुने भएको छ । फागुन १४, १५, १६ र १७ गते मकालु गाउँपालिकाको नुममा मकालु गाउँपालिकाको आयोजना तथा मकालु साहित्यिक समाजको आयोजनामा हुने महोत्सवमा नेपालका सातै प्रदेशका साहित्यकार, लेखक, समालोचक, कविसँगै छिमेकी मुलुक भारतको दार्जिलिङ्ग, सिक्किम, आसाम, मणिपुर, बंगलादेशको ढाका र भुटानको थिम्पुबाट समेत सहभागिता रहने कार्यक्रमको संयोजक तथा मकालु साहित्यिक समाजमा अध्यक्ष तारा बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
साहित्यको माध्यमबाट संखुवासभासँगै आसपासका छिमेकी जिल्लाहरुलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने र पर्यटनका प्रवद्र्धनमा महोत्सव उपयोगी हुने समेत उहाँले बताउनुभयो । अध्यक्ष बुढाथोकीले भन्नुभयो जिल्लाका विविध सँस्कृति र सहभागी देशका क्ला, साहित्य, सँस्कृतिलाई एक आपसमा चिनाउन र सम्बन्ध आदान प्रदानको लागि महोत्सव सेतु हुने समेत उहाँले विश्वास व्यक्त गर्नुभयो ।

महोत्सवलाई भव्यरुपले सम्पन्न गर्न मकालु गाउँपालिकाकी उपाध्यक्ष मनकला राईको सयोजकत्वमा एक वृहत मूल आयोजक समिति नै बनाइएको छ । पहिलो पटक संखुवासभाको सदरमुकाम खाँदबारी बाट ३९ किमी टाढा नुममा हुन लागेको दक्षिण एसियाली साहित्यिक–साँस्कृतिक महोत्सवमा आयोजकका तर्फबाट कुनै प्रकारको कमजोरी नहोस् भन्ने तर्फ सबै सजग रहेको संयोजक राईले बताउनुभयो । महोत्वमा स्थानीय उत्पादनका स्टल, साहित्यिक–साँस्कृतिक कार्यक्रम, पुस्तक विमोचन, नाटक मञ्चन, भलिबल प्रतियोगिता, लोकदोहोरी, विभिन्न जातजातिका झाँकीहरु समेत प्रर्दशन हुने भएको छ ।

तपाईको प्रतिक्रिया