धरान । धरान फुटबल क्लबले २५ औ बर्ष रजत महोत्सवकै रुपमा आयोजन गर्न लागेको बुढासुब्बा गोल्डकप तयारी गरिरहेका बेला सरोकारालाबीचमा सुरक्षा लगायतका विषयमा छलफलको आयोजना गरेको छ । सो अवसरमा व्यवस्थापनपक्षलाई चुस्त दुरुस्त बनाउदै गोल्ड सञ्चालनको बेला रंगशाला आसपासमा मदिरा बेचबिखनमा कडाईका लागि सहया्ेग गर्न धरान फुटबल क्लबले प्रहरी प्रशासनलाई आग्रह गरेको थियो । आयोजक धरान फुटबल क्लबले गोल्डकप प्रतियोगिता सञ्चालनको बेला सुरक्षा व्यवस्था चुस्त गर्न सुरक्षा निकायहरूसँग बुधवार गरेको छलफलमा क्लबले यस्तो आग्रह गरेको हो । छलफलमा इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक कोमल ठाकुरले मदिरा निषेध गर्न सुझाव दिदै प्रहरी प्रशासनबाट यसमा सहयोग हुने बताउनुभयो । क्लबका अध्यक्ष प्रताप तामाङले गोल्डकप धरानको मात्र हैन नेपालकै गहना भएकोले सबैले आ आफ्नो तर्फबाट सहयोग गर्न आग्रह गर्नुभयो । बैठकमा अध्यक्ष तामाङले गेट प्रवेशलाइ पहिलाको भन्दा बेग्लै तरिकाले व्यवस्थापन गरिने जानकारी दिनुभयो उहाँका अनुसार गोल्डकपमा आमन्त्रितहरूलाई भिभिआइपी कार्ड दिँदा धेरै दुरुपयोग भएको पाइएकोले यसपाली ए प्लस कार्डको व्यवस्था गरिएको बताउनुभयो ।

गेट प्रवेशको पनि छुट्टै गेटको व्यवस्था गरिएको जानकारी दिनुभयो । टिकट काट्ने दर्शकका लागि रङ्गशालाको पूर्व उत्तरमा सानो गेट र मुख्य प्रवेशद्वार दक्षिणको सानो गेट प्रयोग गरिने अध्यक्ष तामाङले जानकारी दिनुभयो ।खेल चलिरहेको समयमा सुरक्षा व्यवस्था कडा गरिनु पर्ने आवश्यकतामा अध्यक्ष तामाङले सुरक्षा निकायको ध्यानाकर्षण गराउनुभयो । उहाँका अनुसार क्लबले योजनामा ५० जना सुरक्षा स्वयंसेवक र सुरक्षा कम्पनीको गार्डको व्यवस्था गरिने छ । छलफलमा सशस्त्र प्रहरी सुरक्षा वेस क्याम्पका प्रमुख डिएसपी देवेन्द्रबहादुर सिंह, राष्ट्रिय अनुसन्धान प्रदेश प्रमुख अनुसन्धान अधिकृत नवराज न्यौपाने, प्रहरी निरीक्षक जीवनकुमार गौतम, धरान हङकङ मञ्चका पूर्व अध्यक्ष नानुचन्द्र लिम्बू, धरान–१६ का वडाध्यक्ष मुरारीप्रसाद भट्टराई, धरान–८ का वडाध्यक्ष धनबहादुर राईले मोफसलकै सबैभन्दा पुरानो र ठूलो गोल्डकप सफलता बनाउन आ आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
