धरान । भूतपूर्व भारतीय सैनिक, तिनका आश्रित परिवार र स्थानीय सर्वसाधारणको सहभागितामा भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानले विगतका बर्षहरुमा झै यस बर्ष समेत वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सन् २०२२ देखि पेन्सन वितरण कार्यालय धरानले आफ्नै प्रांगरणमा रक्तदान जीवनदान हो भन्ने मूल नाराका साथ रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । सन् २०२२ र २०२३ मा भएको रक्तदान नेपाल रेडक्रस सोसाइटी सुनसरी धरानको सहकार्यमा सम्पन्न भएका थिए भने सन् २०२४ र २०२५ को रक्तदान मोरङ्गको टंकीसिनुवारीस्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालको सहकार्यमा सम्पन्न भएको थियो । चौथो रक्तदान कार्यक्रमको उद्घाटन धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले गर्नुभएको थियो । सो अवरमा उहाँले भन्नुभयो, धरानमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छ । त्यहाँ उपचारार्थ आउने विरामीहरुले रगतको अभावमा ज्यान गुमाउनु नपरोस् भनेर यस्ता कार्यक्रम पेन्सन अफिसले आयोजना गर्दै आएको छ । पेन्सन अफिसले यस्तो महत्वपूर्ण क्याम्पिङ्ग आयोजना गरेर रगत संकलन गर्ने एउटा महत्वपूर्ण वातावरण निर्माण गरेको छ । धरानभित्रका सामाजिक संघ संस्थाहरुले गरेका रक्तदान कार्यक्रम भन्दा बढी रगत संकलन भएको भन्दै उहाँले पेन्सन कार्यालयले धेरै परिणाममा रगत संकलन गदै आएको छ । यस पुण्य कार्यमा हाम्रो साथ सहयोग सदैव रहनेछ । धरानमा पेन्सन कार्यालयले यस्तो कार्यक्रमको आयोजना गरेकोप्रति कार्यालयका प्रमुख मेजर भरत कनौजियासँगै उहाँको टिमलाई धन्यवाद समेत उहाँले दिनुभएको थियो । रक्तदान कार्यक्रम पौष २७ गते शनिवार विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन भएको थियो । विगतका बर्षहरुमा झै यस बर्ष पनि रक्तदान कार्यक्रममा भारतीय भूतपूर्व सैनिक, तिनका आश्रित परिवार, नेपाल प्रहरीका जवान, सशस्त्र प्रहरी बल नेपालका जवान, नेपाली सेनाका जवान, महिला भूपू समितिहरु, धरान ११ स्थित सुनौलो सक्षम महिला समूह, महिला सञ्जाल धरान, सुनसरी उद्योग वाणिज्य संघ, पूर्वाञ्चल इन्जिनियरिङ्ग अध्ययन संस्थानका विद्यार्थीहरु, केन्द्रीय प्रविधि क्याम्पस (हात्तीसार), युएन कलेज, डिपो मावि, सैनिक महाविद्यालय फुस्रे, होलिल्याण्ड इन्टरनेशनल बोर्डिङ्ग स्कुल, पब्लिक मावि धरान १३, दिपेन्द्र प्रहरी विद्यालय, पेन्सन वितरण कार्यालयका कर्मचारीहरु, भूपू समिति धरान, भूपू समिति इटहरी, भूपू समिति तरहरा, भूपू समिति शान्तिझोडा, भूपू समिति दमक, भूपू समिति दुधे, भूपू समिति विर्तामोड, बेलबारी भूपू समिति, बेल्टार भूपू समिति, झुक्का भूपू समितिका भूपूहरु समेत रक्तदान कार्यक्रममा सहभागी भएका थिए । पेन्सन वितरण कार्यालय धरानद्वारा पहिलो बर्ष सन् २०२२ मा भएको रक्तदान कार्यक्रममा १८३ पिण्ट, दोस्रो बर्ष २०२३ मा २०२ पिन्ट, तेस्रो बर्ष २०२४ मा ३०४ पिन्ट रगत संकलन गरेकाा थियो भने यस बर्षको रक्तदानमा १८८ पिन्ट रगत संकलन भएको कार्यक्रम सञ्चालक एडम्स कृष्णबहादुर थापाल जानकारी दिनुभयो । गत बर्षको तुलनामा यो बर्ष रगत संकलन न्यून भएछ नि त भन्ने जिज्ञासामा उहाँले भन्नुभयो पेन्सन वितरण कार्यालयले भन्दा पहिले सशस्त्र प्रहरी, विभिन्न कलेज तथा सामाजिक संघ संस्थाहरुले रक्तदान कार्यक्रम सञ्चालन गरेका थिए । लगत्तै पेन्सन वितरण कार्यालयले रक्तदान कार्यक्रमको आयोजना गरेकाले यस बर्ष गत बर्षको तुलनामा केही कम भएको थापाले जानकारी दिनुभयो । यद्यपि यसलाई उत्साहप्रद रक्तदान भएको मान्नुपर्छ ।
निःशुल्क स्वास्थ्य परीक्षण


सामाजिक उत्तरदायित्वलाई आत्मसात गरी भारतीय राजदुतावास पेन्सन वितरण कार्यलय धरानका प्रभारी अधिकारी मेजर भरत कनौजियाको सक्रियतमा
रक्तदानसँगै विभिन्न प्रकारका निःशुल्क स्वास्थ्य परीक्षण शिविर समेत सम्पन्न भएको छ । विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलका दक्ष एवम् विशेषज्ञ चिकित्सकहरुद्वारा ९८ जना महिलाको पाठेघर र स्तन क्यान्सर, ११८ जनाको आँखाको परीक्षण, ६६ जनाको मुटुरोग र ४४ जनाको हाडजोर्नीको निःशुल्क परीक्षण गरिएको थियो । निःशुल्क स्वास्थ्य परीक्षण शिविर पेन्सन वितरण कार्यालयको प्रांगरणमा सम्पन्न भएको थियो । स्वास्थ्य परीक्षणमा धरानका स्थानीयसँगै धनकुटा, उदयपुर, मोरङ्गका बासिन्दाहरु समेत सहभागी भएका थिए । साथै रक्तदान शिविरमा संकलन भएको १८८ पिन्ट रगत विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटललाई मेजर कनौजियाले हस्तान्तरण गर्नुभएको थियो ।
शिविरमा विशिष्ट व्यक्तिहरुको सहभागिता
भारतीय राजदुतावास पेन्सन वितरण कार्यालयद्वारा आयोजित रक्तदान तथा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा मेजर भरत कनौजियाको आतिथ्यपूर्ण निमन्त्रणालाई स्वीकार गरी इलाका प्रशासन कार्यालय धरानका प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद रेग्मी, प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी भीम दाहाल, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका एसएसपी जयराम सापकोटा, इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगु, सशस्त्र प्रहरी बल धरानका डिएसपी देवेन्द्र सिंह, जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापा, नेपाली सेनाका कर्णेल सन्तकुमार थापा, दिपेन्द्र प्रहरी विद्यालयका क्याम्प कमाण्डेड गणेश कोइराला, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक एवम् पूर्व शिक्षाध्यक्ष प्रा.डा. विक्रम श्रेष्ठ, हात्तीसार प्रविधि क्याम्पसका उपाध्यक्ष ओमनाथ खतिवडा, उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष विजय श्रेष्ठ, विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलका ब्लड बैंकका विभागीय प्रमुख डा. उज्वल भट्टराईसहितको टोली, झापा जिल्ला भूतपूर्व सैनिक संघका अध्यक्ष सुवेदार अम्बर आङदेम्बे, बेलटार उदयपुर भूपू सैनिक संघका अध्यक्ष मुविराज राई लगायतको उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रममा सहभागीहरुलाई मेजर भरत कनौनियासँगै अथितिहरुले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
मेजर कनौजियाद्वारा आभार व्यक्त
वृहत रक्तदान तथा निःशुल्क स्वास्थ्य परीक्षणमा आफ्नो निमन्त्रणालाई स्वीकार गरी कार्यक्रममा सहभागी जनाउनु भएका सम्पूर्णमा पेन्सन वितरण कार्यालय धरानका प्रमुख मेजर भरत कनौजियाले आभार व्यक्त गर्नुभएको थियो । यस्ता सामाजिक कार्यमा सहभागिता जनाउनु हुने भारतीय भूतपूर्व सैनिक, तिनका आश्रित परिवार, स्थानीय बासिन्दा, नेपाल सरकारका उच्च तथा विशिष्ट श्रेणीका विभागीय कर्मचारीहरुप्रति आभार व्यक्त गर्दै आगामी बर्षरुमा समेत आयोजना हुने यस प्रकारको कार्यक्रममा सहभागिताका लागि अपेक्षा गर्नुभएको थियो ।





