धरान । धरानकै पुरानो तर सरकारको आँखा नपुगेको एक विद्यालयलाई धरानका समासेवी राजेश अग्रवालले ्भवन निर्माण गरिदिनु भएको छ । सुकुम्बासी बस्ती तथा आर्थिक अभाव भएका बालबालिकाहरु पठनपाठन गर्ने धरान १५ खोरिया बस्तीमा रहेको जनता आधारभूत विद्यालयलाई सहयोग गर्नुभएको हो ।
धरान १५ खोरिया बस्तीमा रहेको सो विद्यालय आर्थिक अभाव भएका विद्यार्थीहरु अध्ययन गर्छन् । तर यस विद्यालयको भौतिक संरचना निर्माण तथा गुणस्तरीय शिक्षामा कसैले ध्यान नपुगेको बेला अग्रवालले लायन्स क्लब अफ धरान बुढासुब्बाको संयोजनमा ५ कोठे भवन निर्माण गरिदिनुभएको हो ।
२१ लाख ११ हजार रुपैयामा निर्माण सम्पन्न भएको सो विद्यालयको नाम समेत अहिले फेरिएको छ । अग्रवालले आमा भगवतीदेवी र बुबा नन्दकिसोरको स्मृतिमा जीर्ण भवन नयाँ बनाइदिएले योे विद्यालयको नाम जनता भगवती नन्द आधारभुत विद्यालय भएको हो ।

दाता राजेश अग्रवालले आफ्ना जीजु हजुरबुबाबाट सामाजिक काम गर्ने प्रेरणा पाएको बताउनुभयो । आर्थिक अभाव भएका सुकुम्बासीका बस्तीका बालबालिका अध्ययन गर्ने सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक सुधार होस् भन्ने अभिप्रायले सहयोग गरेको बताउनुभयो । उहाँले आफ्ना दाजु पवन अग्रवाल र अनय आफन्तजनहरुले विद्यालयमा अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकुमार राईले आफू करिब ४ महिना जति मात्र भएपनि २४ लाख भन्दा बढीको बजेट ल्याउन सफल भएको बताउनुभयो । अग्रवाल परिवारबाट २१ लाखबाट नयाँ भवन बनेको र उपमेयर कोषबाट पनि ३ लाख रुपैयाको घेराबार गरिएको उहाँले बताउनुभयो । उहाँले दाताहरुलाई धन्यवाद समेत दिनुभयो । धरान उपमहागरपालिकाका मेयर हर्कराज राईले भवन निर्माण कार्यक्रममा विद्यालयको विषयमा अनविज्ञता प्रकट गर्नुभयो । उहाँले विद्यालय भवन निर्माणमात्र गरेर नपुग्ने बताउदै विद्यालयका शिक्षकहरु प्रयाप्तता भएको छ वा छैन, शिक्षण सिकाई कस्तो छ भनेर विद्यालय व्यवस्थापन समितिलाई कार्यक्रममै सोध्नुभएको थियो । स्थानीय सरकारमातहत आएका विद्यालयका विषयमा समेत अनविज्ञता प्रकट गरे पनि शैक्षिक सुधारमा जोड दिने उहाँले प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमको अध्यक्षता क्लबकी अध्यक्ष पुनम राई लिम्बुको अध्यक्षतामा भएको थियो । दाताहरुलाई लायन्स क्लब अफ धरान बुढासुब्बा र विद्यालयबाट सम्मान पनि गरिएको थियो । धरानमा भौतिक पूर्वाधार जीर्ण भएका तथा शैक्षिक गुणस्तर कमजोर भएका धेरै विद्यालयहरु छन् । यस्ता विद्यालयको भौतिक पूर्वाधार निर्माणसँगै शैक्षिक गुणस्तर सुधारमा स्थानीय सरकार अनविज्ञ भएको बेला व्यक्तिकै सहयोगको भर पर्नुपर्ने अवस्था आउनु विडम्बना हो । सुविधा सम्पन्न रहेको धरान उपमहानगरपालिकाभित्रको विद्यालयको हालत त यस्तो छ भने राज्यको पहुँच नपुगेका ग्रामीण स्थानको विद्यालयको सरचना र शैक्षिक गुणस्तर कस्तो छ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
