सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा हुने

धरान/ सातौ राष्ट्रिय खेलकुद आगामी मंसिरको दोस्रो सातादेखि पूर्वाञ्चलमा हुने भएको छ ।
यसका लागि सम्पूर्ण तयारी भइरहेको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले आज धरानमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिनुभएको छ । धरान ९ स्थित जिल्ला खेलकुद विकास समितिको कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै सदस्यसचिव विष्टले सातौ राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा गर्न लागिएको बताउदै सबैले यसमा सहयोग गर्न आग्रह समेत गर्नुभयो ।
प्रतियोगिताको उद्घाटन पूर्वाञ्चलको विरानटगरमा गरिने र खेलको समापन भने धरानमा गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
भलिबल, फुटबल, कराते, बक्सिङ्ग, गल्फल लगायतका ३५ देखि ४० प्रकारका खेलहरु प्रतियोगितामा समावेश गरिने बताउदै उहाले विगतको भन्दा यसपटकको प्रतियोगिता उत्कृष्ट हुने दाबी समेत गर्नुभयो । पूर्वाधारले खेलकुद प्रतियोगितालाई नछेक्ने बताउदै पूर्वाञ्चलमा भएका पूर्वाधारलाई सुधार गरेर प्रतियोगिता सम्पन्न गर्ने समेत जानकारी दिनुभयो ।
फरक प्रसंगमा उहाले आफ्नो कार्यकालमा खेलकुदमा भएको विवादलाई टुंगोमा पुर्‍याउने आश्वासन समेत दिनुभयो । सदस्य सचिव विष्टले अब खेलकुद राजनीतिबाट टाढा हुनुपर्ने बताउदै खेलकुदको क्षेत्रमा लागेका सबैले यो या त्यो पार्टीको नभई विसुद्ध खेलकुदको विकासमा लाग्न आग्रह समेत गर्नुभयो ।
सदस्यसचिव विष्टले यस्तो बोलिरहदा जिल्ला बक्सिङ्ग संघका सुनसरी अध्यक्ष देवेन्द्र लिम्बुले विगतका खेलहरुमा खेलाडीहरुलाई विभेद गरेको बताउनुहुदै यसपटक यस्तो नहोस् भन्ने आफूहरुले चाहेको बताउनुभयो । उहाले बक्सिङ्ग खेलको उर्वरभूमि धरान नै भएकोले यो खेल धरानमा राख्न अनुरोध समेत गर्नुभयो । सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिदै गएको अवस्थामा आजै धरानमा रहेका खेलकुदका पूर्वाधारहरुको समेत अवलोकन गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया