राज्यबाट उपेक्षित निर्माण व्यवसायी

धरान । वेराजगार हल गर्न निर्माण व्यवसायीहरुको ठूलो हात रहेको व्यवसायीहरुले बताएका छन । नेपाल निर्माण संघ सुनसरीले सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित दशै, तिहार तथा छैठ पर्वको शुभकामनासहित कमिटी गठन गर्ने क्रममा बताएका हुन् । सम्पूर्ण रोजगारीको ४० प्रतिशत रोजगार प्रदान गरेको, विकास निर्माण लगायत भौतिक पूर्वाधार निर्माणमा राजश्वसको ८० प्रतिशत हिस्सा निर्माण व्यवसायीले नै तिर्ने गरेको बताउदै सरकारी निकायले निर्माण व्यवसायीलाई सधै दुःख दिने गरेको बताएका छन् । नेपाल निर्माण व्यवसायी संघ धरान नगर कमिटीका अध्यक्ष महेन्द्र प्रधानले सरकारी कामहरु गर्दा समयमै भुक्तानी नदिने, निर्माण सम्पन्न गरेर अर्को निर्माणको काम सम्झौता भइसक्दा पनि सम्पन्न भएको पुरानो कामको भुक्तानी नदिँदा निर्माण व्यवसायी मारमा परेको बताउनुभयो । उहाँले सरकारले समयमै निर्माणका लागि रकम भुक्तानी नगर्दा निर्माण समयमै नसकिने भए पनि राज्यका तर्फबाट भने निर्माण व्यवसायीले काम समयमै नसकेको आरोप लाग्ने गरेको बताउनुभयो ।

यस्तै निर्माण व्यवसायी संघ सुनसरीका अध्यक्ष रितिराज कार्कीले निर्माण व्यसाय एक जुट हुनुपर्छ भन्ने कुरा नै धरानबाट भएकोले निर्माण व्यवसायीहरु एकबद्ध हुने ठाउँ धरानका व्यवसायीहरुलाई भुल्न नहुने बताउनुभयो । उहाँले नेपाल निर्माण व्यवसायी संघ धरानबाट गठन भएको र त्यसबेलाका निर्माण व्यवसायीहरु महासंघमा आवद्ध रहेको बताउनुभयो ।
सो अवसरमा उनीहरुले धरान नगर कमिटी समेत गठन गरेका छन् । महेन्द्र प्रधानको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति गठन भएको छ । जसको प्रथम उपाध्यक्षमा उत्तमकुमार श्रेष्ठ, द्धितीय उपाध्यक्षमा विजया तामाङ, महासचिव आशिष कटुवाल, सचिवमा विर्ख लिङदेन, कोषाध्यक्षमा नारायण लिम्बु र सदस्यहरुमा तुला थापा मगर र जयप्रकाश शर्मा रहनु भएको छ । सो अवसरमा नयाँ कार्यसमितिलाई बधाईज्ञापन गर्दै नजिकिदै गएको चाडपर्वको शुभकामनासहित सुरक्षित ढंगबाट मनाउन सबैलाई आग्रह समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया