खेलाडी उत्पादन गर्न एन्फाले १५ बर्ष मुनिका प्रदेशस्तरीय प्रतियोगिता गर्ने

धरान । ‘अब पालो नयाँ पीडिको, लक्ष्य तयारी हाम्रो वल्र्ड कपको’ नारा लिएर कोशी प्रदेश फुटबल संघले पहिलो पटक एन्फा प्रेसिडेन्ट अन्डर १५ फुटबल प्रतियोगिता २०८० को आयोजना गर्ने भएको छ । धरान १७ एन्फाको खेल मैदानमा आगामी मंसिर २७ गतेदेखि पौष ६ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागेको हो । कम उमेरबाटै दक्ष फुटबल खेलाडी उत्पादन गर्दै भविष्यमा राष्ट्रिय र वल्डकपसम्म पु¥याउने लक्ष्य लिएर पहिलो पटक एन्फा प्रेसिडेन्ट कप अन्डर १५ फुटबल प्रतियोगिता–२०८० को आयोजना गर्न लागेको हो । विगतमा प्याब्सन, एन प्याब्सनमा आवद्ध विद्यार्थीहरुलाई जिल्ला व्यापी प्रतियोगिता गरिसकेको एन्फाले यसपटक भने कोशी प्रदेशमा रहेका क्लबमा आवद्ध १५ बर्ष मुनिका खेलाडीहरुलाई समावेश गरेर प्रतियोगिता आयोजना गर्न लागेको हो । क्लब स्तरीय प्रतियोगिताबाट १५ बर्ष मुनीका खेलाडीको वृतिविकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा सुनसरीबाट धरान फुटबल क्लब, राष्ट्रिय जागृति क्लब इटहरी, अल स्टार क्लब धरान, न्यु स्टार क्लब कालाबन्जार, झापाबाट धु्रवधारा स्पोर्टिङ क्लब दमक, झापा नेशनल एकाडेमी, मोरङबाट उर्लाबारी नगरपालिका टिम, मिल्स भेटूान क्लब र उदयपुरबाट गाइघाट फुटबल क्लबसहित १० टिमले प्रतियोगितामा भिड्ने भएका छन् ।


खेलाडी उत्पादनलाई जोड दिनकै लागि प्रतियोगिता आयोजना गर्न लागिएको कोशी प्रदेश फुटबल संघका उपाध्यक्ष शिव न्यौपानेले जानकारी दिनुभयो । खेलकुदको क्षेत्रमा नेपालले उल्लेख्य प्रगति गर्न नसके पनि क्रिकेट खेलमा भने नेपालले धेरै उपलब्धी हात पारेको बताउदै फुटबल खेललाई पनि क्रिकेट खेलजस्तै उचाईमा पु¥याउन सानो उमेरका खेलाडीलाई प्रतिष्पर्धाबाट निखार्नकै लागि प्रतियोगिता आयोजना गर्न लागिएको संघका अध्यक्ष किशोर राईले बताउनुभयो । उहाँले एन्फाले जुन उद्देश्य  राखेर प्रदेश स्तरीय एन्फा गठन गरियो सो अनुसारको उपलब्धी नभएको बताउनुभयो । उहाँले कोशी प्रदेशले विद्यालय स्तरीय चारवटा प्रतियोगिता गरिसक्दा अन्य प्रदेशले गर्न नसकेको बताउँदै एन्फा मातहतमा सञ्चालन हुने क्लब स्तरीय प्रतियोगिता समेत गर्न नसकेको भन्दै आक्रोस व्यक्त गर्नुभयो ।
प्रतियोगितामा प्रथम हुने टिममलाई ५० हजार, दोस्रो हुने टिमलाई २५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियागितामा प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजारको दरले पुरस्कार समेत प्रदान गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका आयोजनाका लागि पालिकाहरुको तर्फबाट १ लाख ५० हजार, कोशी खेलकुद विकास बोर्डको तर्फबाट १० लाख, विभिन्न प्रायोजक, सहयोगी संघ संस्थाहहरुबाट २ लाख र सहभागी क्लबहरुबाट १ लाख गरी ५ लाख ५० हजार रुपैया संकलन गर्ने लक्ष्य आयोजकले लिएको छ भने ४ लाख २६ हजार खर्च हुने अनुमान गरेको छ ।

तपाईको प्रतिक्रिया